शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसित खेल्छ त्यो पानीमै मर्छ भनेजस्तै सत्ताको निम्ति मात्रै राजनीति गर्ने दल सत्ता राजनीतिमै भुलेर असफल या पतन हुन्छ ।

गएको निर्वाचनमा एमाले र माओवादी केन्द्र सरकारको नेतृत्व गर्नेकै लागि मिलेको थियो । सिद्धान्त र विचारको थाती राखेर सत्तामोहको निम्ति मिलेर बनेको नेकपा अन्ततः फेरि एमाले र माओवादी केन्द्र बने ।

सत्तामोहकै कारण एमाले र माओवादी केन्द्र नेकपा बन्यो र त्यही नेकपा सत्ता राजनीतिकै कारण एमाले र माओवादी केन्द्र बने । केपी ओली नेतृत्वको विकल्प अर्को सरकार खोज्नु के सत्ता स्वार्थ होइन ?

माधव नेपाल र दाहालले के प्रम ओली हटाएर अर्कै नेतालाई सत्तामा ल्याउने राजनीति गरिरहेका होइनन् ?

एमाले र माओवादी केन्द्र अलग हुनुभन्दा अघि या नेकपाको नेतृत्वमा सरकार रहेको बेला ओली र दाहालमा सत्ताको मात चढेको थियो । झन्डै संसारकै शक्तिशाली सरकार बनेको उद्घोष गरिएको थियो । देशको मुहार फेर्ने विश्वास दिलाइएको थियो ।

नेकपा कुनै हालतमा नटुक्रिने बताइएको थियो । तर, सरकारको नेतृत्व गरेको तीन वर्ष पुग्दा नपुग्दै सरकार परिवर्तनको प्रसङ्ग उठ्यो र सत्तासीन दल अलग अलग भयो ।

यतिबेला माधवकुमार नेपाल, पुष्पकमल दाहालमात्र होइन एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अनुहार पनि निन्याउरो देखिन्छ । चढेको मात एकाएक झ¥यो र शासकहरू नुन खाएको कुखुराझैँ भए ।

सत्तासीन राजनीतिक दलका नेताहरूको उद्देश्य नै सरकारको नेतृत्व गर्नु थियो । सत्तामा रहेर सेवा सुविधा लिनु थियो । छिनछिनमा सरकारको नेतृत्व परिवर्तन हुनुको कारण पनि सत्तामोह नै हुन्थ्यो ।

झन्डै दुईतिहाइ मत प्राप्त यो सरकार एउटै दलको नेतृत्वमा ५ वर्ष सम्म सरकार कायम हुने विश्वास थियो । तर, ओलीको सरकार ढाल्ने गृहकार्य नेका र माओवादी केन्द्रले गरिरहेका छन् ।

ती दलका नेताहरूले अविश्वास प्रस्ताव राखेर बहुमत जुटाउने प्रयास गरिरहेका छन् । सङ्ख्या नपुगी अविश्वास प्रस्ताव दर्ता नगर्ने नेकाको सोच हो । आफ्नो सरकार हटाउन विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउन तयारी गरिरहेको सरकारी पक्षको दाबी छ ।

तर, प्रमुख राजनीतिक दलहरूबीच जारी सत्ता समीकरणको जोड घटाउको टुङ्गो लागेको छैन या निष्कर्षमा पुगेको छैन । सत्तामोहको राजनीतिमा ठुला दलहरू फसे देशमा अस्थिरता निम्तिनेछ, विकासमा बाधा पुग्नेछ । सत्ता समीकरणले सरकार बदले पनि खासै कुनै परिवर्तन हुनेछैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय