
काठमाडौं,२९ साउन । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम अन्तिम चरणमा पुगेको हो ।
बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको छ । आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको बताइएको छ । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।
करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।
