
काठमाडौं
असममा बुधबार बिहान ६.४ तीब्रताको भूकम्प आयो । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार यो भूकम्प स्थानीय समयानुसार बिहान ७.५१ को हो । यसको केन्द्र सोनितपुर जिल्लामा थियो ।
यो भूकम्पले भारतको उत्तर पूर्वका साथै उत्तर बंगालका थुप्रै इलाकामा तीब्र झट्का महसुस गरियो । भारतमा आएको भूकम्प नेपालको पूर्वी भागमा समेत महसुस गरिएको त्यहाँका स्थानीयले बताएका छन् ।
भूकम्पका कारण गुवाहाटीसमेत थुप्रै स्थानमा पर्खाल भत्किएको र ठूलो चिरा परेको तस्बिर सार्वजनिक भएका छन् । हालसम्म मानवीय क्षतीको खबर प्राप्त छैन ।
असमका मुख्यमन्त्री सर्बानन्द सोनोवलले मानिसहरुको सुरक्षाको प्रार्थना गर्दै सबैलाई सतर्क रहन अपिल गरिरहेका छन् ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्रीसँग कुरा गरेर केन्द्र सरकारको तर्फबाट हरसम्भव मद्दतको विश्वास दिलाएका छन् ।
६ तीबूताको भूकम्प कति खतरनाक ?
भूगर्भ वैज्ञानिकका अनुसार भूकम्पको वास्तविक कारण टेक्टोनिकल प्लेटमा तीब्र हलचल हो । यसबाहेक उल्का प्रभाव र ज्वालामुखी बिस्फोट, परमाणु परीक्षणका कारण पनि भूकम्प आउने गर्छन् ।
रिक्टर स्केलमा भूकम्पको तीब्रता मापन गरिन्छ । यो स्केलमा २.० वा ३.० को तीब्रताको भूकम्प हल्का हुन्छ जबकी ६ तीब्रताको अर्थ शक्तिशाली भूकम्प हो ।
भूकम्पले कति क्षती ल्याउँछः
तीब्रता असर
०–१.९ सिज्मोग्राफबाट मात्रै थाहा हुन्छ
२–२.९ हल्का झट्का महसुस हुन्छ
३–३.९ कुनै ट्रक नजिकबाट यात्रा गरेको झैं महसुस हुन्छ
४–४.९ झ्याल फुट्न सक्छन् । भित्तामा राखेका फ्रेम खस्न सक्छन्
५ –५.९ फर्निचर हल्लिन सक्छन् । घर चर्किन सक्छन्
६ – ६.९ माटोको घर भत्किन सक्छन् । माथिल्लो तलामा क्षती पुग्नसक्छ
७–७.९ भवन–घर भत्किन सक्छन् । निकै क्षती हुनसक्छ जस्तै २०७२ सालमा नेपालको महाभूकम्पमा भएको थियो ।
८–८.९ भवनसमेत ठूला पूल पनि खस्न सक्छन् । सुनामीको खतरा
९ र सोभन्दा माथि सबैभन्दा बढी क्षती । कोही मैदानमा बसेको छ भने धर्ती हल्लिरहेको देख्न सक्छन् । ठूलो सुनामी । जस्तै जापानमा सन् २०११ मा ९.१ भूकम्पपछि आएको थियो ।
रातोपाटी