बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले आइतबार बालुवाटारमा बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले स्थितिको समीक्षा गरिरहेका छौं ।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी माओवादीसँग मिलेर एमालेकै नेता नेपाललगायतका सांसदले फ्लोर क्रस गर्ने योजना बनाइरहेको सूचना बालुवाटारमा निरन्तर रूपमा पुगिरहेको छ।

नेपाल, झलनाथ खनाललगायतका नेताले कांग्रेस र माओवादी नेताहरूसँग निरन्तर रूपमा छलफल गरिरहेका छन्।

कांग्रेस आँट गरेर अघि बढ्ने हो भने आफूहरू फ्लोर क्रस गरेर पनि साथ दिन तयार रहेको सन्देश उनीहरूले दिइरहेका छन्।

खनाल–नेपाल समूहले दिएको ढाडसबारे थाहा पाएपछि सकेसम्म अविश्वास प्रस्ताव आउनुअगावै ओलीले फ्लोर क्रस गर्न सक्ने सांसदलाई हटाउने योजना बनाएका छन्।

 

यो पनि पढ्नुहोस् ।

कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमाले एकताको पक्षमा लागौं – माधव नेपाल

काठमाडौं।

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा आह्वान गरेका छन्।

सोमबार मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसको अवसरमा एक वक्तव्य जारी गरेर नेता नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न आग्रह गरेका हुन्।

उनले नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको मुलुक र कम्युनिस्ट आन्दोलनमा योगदान अतुलनीय भएको बताए।

अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिल्यै नमेटिने नेता नेपालको भनाई छ।

‘मनमोहन स्मृति दिवसको अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट एकता र देश विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

अहिले कम्युनिस्ट सरकारले विकृति र विसंगतिलाई प्रश्रय दिने काम गरिरहेको आरोप नेता नेपालको छ। जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतीहरुलाई प्रशय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय