शनिबार , बैसाख ८, २०८१

काठमाडौँ

सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट, क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरिएको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको हो ।

भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइएको छ । त्यसका लागि चाहिने बजेट अर्थ मन्त्रालयले निकासा दिने निर्णय भएको हो ।

वैशाख ५ को मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाका झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नजिकै होल्डिङ सेन्टर बनाउने निर्णय भएको थियो ।

त्यस्तै भारतबाट हवाईमार्ग हुँदै नेपाल ओर्लिएर तेस्रो मुलुक जान पनि विदेशीलाई रोक लगाएको छ । भारतबाट आएका जहाजलाई ट्रान्जिटका रूपमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु नओराली त्यहींबाट तेस्रो मुलुक जान दिइनेछ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मन्त्रिपरिषद्बाट जारी आदेशलाई कडाइका साथ लागू गर्न स्थानीय प्रशासन, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइएको बताए ।

विदेशीका लागि जारी गरिएका कडा प्रावधान कामबिना कोही यो महामारीमा नेपाल प्रवेश नगरून् भन्नकै लागि हो । जरुरी काम परे सर्त पूरा गरेर आउन सक्ने उनले बताए ।

प्रवक्ता दाहालले भने, ‘जारी आदेशलाई कडाइका साथ पालना/लागू गराउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, प्रहरी र सशस्त्र प्रहरी तथा अन्य सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।’

जारी आदेश महामारी रोकथाम तथा नियन्त्रणका लागि भएकाले कसैले पनि पालनामा अटेर गर्ने, जोखिम बढाउने र आफूखुसी गरेको पाइए त्यहीअनुसार सरकार कारबाही गर्न बाध्य हुने उनले चेतावनी दिए ।

यो आदेशसँगै क्रसबोर्डर अकुपेसन भएका नेपाल र भारतका नागरिकको आवागमन पनि नियन्त्रण गरिनेछ । मन्त्रिपरिषद्ले नेपाली नागरिक, अनुमति प्राप्त मालवाहक सवारी, अत्यावश्यक सेवा, मानवीय संवेदनासँग जोडिएका तथा सरकारको पूर्वस्वीकृति लिएकालाई जनस्वास्थ्यका मापदण्डभित्र रहेर आउजाउ गर्न दिइनेछ ।

सरकारको उक्त निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले अध्यागमन विभागसहित सीमावर्ती जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई परिपत्र गरिसकेको छ ।

गृहको निर्देशनपछि मंगलबार नै अध्यागमन विभागले प्रेस विज्ञप्तिमार्फत भारतबाट नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइएको जनाएको छ ।

भारतबाट भित्रिएका नेपालीलाई परिचयपत्रका आधारमा प्रवेश दिएर होल्डिङ सेन्टरमार्फत व्यवस्थित रूपमा गन्तव्यमा जान दिइनेछ ।

हेल्डिङ सेन्टरमा राखिएकालाई तापक्रम नाप्नेदेखि शंकास्पदलाई पीसीआर र एन्टिजेन परीक्षण गरेर जरुरी देखिए आइसोलेसन र क्वारेन्टाइनमा पठाइनेछ ।

यस्तै भारतमा महामारीको उच्च जोखिम बढेपछि स्थलमार्ग हुँदै नेपालीलाई भारत जान पनि रोक लगाइएको छ । चोरबाटोबाट हुन सक्ने आवागमनलाई रोक्न सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र नेपाल प्रहरीका सीमा चौकीको तैनाथी बढाइएको छ ।

नेपालको सीमा भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि जोडिएको छ । नेपाल–चीन सीमाबाट पूर्वअनुमतिबिना आवागमन गर्न नपाइने भएका कारण व्यवस्थापनमा कुनै कठिनाइ छैन । तर, भारतसँगको सीमा भने खुला भएकाले पूर्ण रूपमा आवागमन नियन्त्रण गर्न समस्या छ ।

वैशाखयता मात्रै भारतबाट औपचारिक नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या २ लाख १५ हजार पुगेको छ । यसबाहेक लुकीछिपी भित्रिनेको उल्लेख्य संख्याबारे सरकारसँग कुनै तथ्यांक छैन ।

जुन महामारी रोकथाम तथा नियन्त्रणका लागि निकै ठूलो जोखिम हो । गृह प्रवक्ता दाहालका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयलाई बिहीबार बिहानबाटै उपत्यकामा निषेधाज्ञा हुने भएकाले निषेधित ठाउँलाई गन्तव्य बनाएर आउने सार्वजनिक यातायातलाई सुरु स्थानबाटै रोक्न पनि निर्देशन दिइएको बताए । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय