बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ ।

अहिले देशका विभिन्न शहरमा निषेधाज्ञाको सिलसिला चलेको छ । सरकारले आगामी बिहीबारदेखि उपत्यकामा निषेधाज्ञाको तयारी गरिरहेको छ । यो तयारीसँगै आम सर्वसाधारण विगतको लकडाउनलाई सम्झेर अत्तालिइसकेका छन् ।

आम सर्वसाधारण आफ्नो दैनिक जीवन चलाउने बिहान–बेलुकाको छाक टार्ने चिन्तामा छन् । गत वर्षकै पीडा दोहोरिन्छ कि भन्ने उनीहरुलाई डर छ । रासनपानी र ग्यासको अभाव हुन्छ कि भन्ने चिन्ताले सर्वसाधारणलाई सताउन थालेको छ ।

यो अवस्थामा तत्काल मुलुक लकडाउनमा गइहालेमा सरकारको तयारी के छ त ? दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल, ग्यासको आपूर्ति कसरी हुन्छ ? अत्यावश्यक वस्तुहरुको मौज्दात (स्टक) छ ?

खाद्यान्नको समस्या छैन, अभाव हुन दिँदैनौँ’

अहिलेकै अवस्थामा मुलुकमा लकडाउन वा निषेधाज्ञा भए पनि देशभर खाद्यान्न, दाल चामल, नुन, तेलको समस्या नपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ ।

खाद्य कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणि खनाल खाद्यान्नको विषयलाई लिएर कसैले पनि चिन्ता लिनु नपर्ने बताउँछन् । खनालले रातोपाटीसँग भने, ‘अहिलेकै अवस्थामा हामीसँग करिब २९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । गत वर्षजस्तै लकडाउनको समयमा आपूर्ति प्रणाली रोकिँदैन ।’

आवश्यकताका आधारमा खाद्य कम्पनीले निरन्तर खाद्यान्न आयात गरिहने खनाल बताउँछन् । देशभित्रका सबै स्थानमा वितरण प्रणालीलाई चुस्त दुरुस्त राखिने र खाद्यका सबै संयन्त्रहरु क्रियाशील राखिने उनले बताए ।

खनालले भने, ‘खाद्यको केन्द्रीय डिपोदेखि प्रादेशिक र जिल्ला स्तरीय वितरक डिपोहरुसमेत सधैँ खुला रहनेछन् । उपभोक्ताको सेवामा गत वर्षको लकडाउनमा सुरु भएको अनलाइन तथा मोबाइल होम डेलिभरी सेवालाई समेत कम्पनीले निरन्तरता दिइरहने छ ।’

आवश्यकताका आधारमा खाद्य कम्पनीले साल्ट ट्रेडिङ कम्पनी, आयाल निगम र स्थानीय सरकारहरुसँग सहकार्य गर्दै खाद्यान्न र उपभोग्य सामानहरु आपूर्तिमा सहजीकरण गर्ने खनालले बताए ।

१ लाख ५६ हजार टन नुन स्टकमा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको पर्याप्त मौज्दात रहेको जनाएको छ । गत वर्षको लकडाउनमा समेत नुन र चिनीको आपूर्ति नरोकिएको बताउँदै भविष्यमा पनि यी वस्तुहरुको आपूर्ति नरोक्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले रातोपाटीलाई बताए ।

‘गत वर्षको उच्च लकडाउनका बेलामा पनि हामीले बजारमा नुनको अभाव हुन दिएनौँ, यसपटक पनि जारी रहन्छ,’ राजभण्डारीले भने, ‘अहिले पनि हामीसँग करिब ९ महिनालाई पुग्ने नुन स्टकमै छ ।’

चिनीको मौज्दात भने साल्ट ट्रेडिङसँग हाल ७५० टन जति मात्रै रहेको प्रवक्ता राजभण्डारीको भनाइ छ । चिनीको कारोबार साल्ट ट्रेडिङबाट भन्दा पनि बजारबाटै धेरै हुने हुँदा समस्या नआउने राजभण्डारीको भनाइ छ ।

आयल निगम भन्छ– ग्यासको आभाव हुँदैन

नेपाल आयल निगमले जस्तोसुकै अवस्थामा पनि ग्यासको अभाव नहुने बताएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले हालकै अवस्थामा अधिकतम २० लाख मेट्रिक टन ग्यास स्टकमै रहेको बताउँदै लकडाउनको अवस्थामा समेत आपूर्ति प्रणाली नरोकिने बताए ।

‘खाना पकाउने एलपी ग्यासको आपूर्तिमा अहिले कुनै समस्या छैन र भोलिका दिनमा पनि हुनेछैन’ पौडेल भन्छन्, ‘असहज परिस्थितिमा पनि निगमले निरन्तर आपूर्ति जारी राख्छ । अहिले हामीसँग अधिकतम २० लाख मेट्रिक टन बराबरको ग्यास स्टकमा छ । यसले थोरैमा पनि २१ दिन धान्न पुग्छ ।’ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय