काठमाण्डौ

रङ्गीन सपना बोकेर धन कमाउने आशामा मलेसियालगायत खाडी देश जाने नेपालीहरुको सङ्ख्या ठूलो छ । तर सबैको विदेश बसाइ दखेको सपना जस्तै रङ्गीन भने हुँदैन ।

खोटाङ केपिलासगढीका राजु राईलाई पनि त्यस्तै भयो । वैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्य देश नै हो मलेसिया । २०/२१ वर्षको अल्लारे उमेर । राजु पनि रहर र सपनाको सागर तैरिँदै मलेसिया पुग्नुभयो सन् २०१६ मा ।

मलेसियाको एक कम्पनीमा सामान्य कामदारको रुपमा जानुभएको थियो राजु । काम गाह्रो थिएन । कमाइ पनि चित्तबुझ्दो थियो । नेपाली ३५ हजार रुपैयाँ कमाउनुहुन्थ्यो । बसाइ राम्रै चल्दै थियो । यस्तैमा तीन वर्ष बिते । नेपालबाट गरेर गएको करार सम्झौता सकियो । भिसाको म्याद पनि सकियो ।

काम र कमाइ दुवै राम्रै थियो । त्यसैले पनि राजुले घर फर्किहाल्न मन गर्नुभएन । कम्पनीसँगै सेटिङ् मिलाएर उतै काम गर्न थाल्नुभयो । उहाँलाई यसरी काम गर्नु कानुन विपरित हो भन्ने पनि थाहा थिएन ।

तर साथीहरुको लहैलहमा उतै काम गरिरहनुभयो । भिसाको म्याद सकिएर अर्काको देशमा बसिरहनु गैर कानुनी ठहरिन्छ । यसरी बस्दा उहाँ अवैधानिक हुनुभयो । राजुलाई पनि विस्तारै घर जानुपर्छ भन्ने लागेको थियो । तर भिसा सकिएको अवस्थामा एक दिन उहाँलाई प्रहरीले पक्राउ गर्यो ।

घरमा हरायो भन्ने हल्ला

राजुलाई प्रहरीले पक्राउ गरेर कारागार लग्यो । उहाँसँग मोबाइल पनि थिएन । त्यसैले राजुले घरमा पनि फोन गर्न सक्नुभएन । दिनभरि काममा भइराख्ने राजु एकाएक कैद जीवन जीउन थाल्नुभयो । दिमागमा वेचैनी छायो ।

‘मलाई आफ्नो भन्दा पनि घर परिवारको चिन्ता लाग्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘जेलमा हुँदा घरपरिवारमा छट्पटाहट भयो होला भनेर मनमा बेचैनी हुन्थ्यो ।’

तर पनि राजु केही गर्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । न त परिवारलाई फोन गर्न पाउनुभयो । न कम्पनीलाई भनेर नै आफूलाई छुटाउन सक्नुभयो ।

राजु जेल परेदेखि परिवारसँग पनि सम्पर्क हुन छुटेको थियो । सधैँ हप्तापिच्छे फोन सम्पर्क भइराख्ने राजुको परिवारलाई लामो समयसम्म फोन नहुँदा चिन्ता लाग्न थाल्यो । हप्ता महिना हुँदै वर्ष बित्यो । तर परिवारलाई राजुको बारेमा कुनै जानकारी मिलेन ।

कोरोना महामारी विश्वभरि फैलिँदै थियो । मलेसियामा पनि लकडाउन सुरु भयो । दैनिक यति मरे उति मरे भन्ने खबर आउँथ्यो । राजुलाई नेपालमा के भयो होला, घर परिवारमा के भयो होला भन्ने चिन्ता लागिरहन्थ्यो ।

‘नेपाल कसरी फर्केर जाने  र आफन्तसँग कहिले भेट हुने भनेर मनमा खड्को त भइ  रहन्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘म मलेसियाकाे जेलमा थिएँ घरमा म हराएकाे हल्ला चलेछ ।’

यता राजुको घरपरिवारमा पनि छोरा जिउँदै छ कि मरिसक्यो केही थाहा थिएन । छोरालाई केही पनि नभएको होला भन्ने आशामै बसेका थिए सबै जना । हराएको छोरालाई खोजी माग्न राजुका बुवा चन्द्रबहादुर राई विभिन्न निकाय धाउनुहुन्थ्यो ।

सामी र पीएनसीसीको सहयोग

चिसो मौसम । घरमा राजुका आमा बुवा हुनुहुन्थ्यो । अगेनाको छेउमा बसिरहनुभएका राजुका आमा बुवा छोरा हरायो भनेर छट्पटाइरहनुभएको थियो । सामी परियोजना अन्तर्गतका रिटर्नी माइग्रेन्ट वर्कर स्वयंसेवक गाउँ डुल्दै जाने क्रममा राजुको घर पुग्नुभयो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी देशभरका ३९ जिल्लामा सञ्चालित छ ।

स्वयंसेवकलाई देखेर उहाँहरुले सबै कुरा बताउनुभयो । डेढ वर्षदेखि हराएको आफ्नो छोरालाई जसरी भए पनि खोजिदिन आग्रह गर्नुभयो । त्यसपछि सामी अन्तर्गतको आप्रवासी स्रोत केन्द्रले राजुलाई खोज्नको लागि पहल थाल्यो । केन्द्रले खोजी उद्धार गर्नका लागि प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा खबर पठायो ।

पीएनसीसीले खोज्दै जाँदा राजु मलेसियाको सुभानिया भन्ने जेलमा रहेको खबर प्राप्त भयो । तर छोरा जेलमा भएको थाहा पाएपछि राजुका बुवा झन् आत्तिनुभयो । सामान्य अवस्थामा भए त बोलाउन पनि सजिलो हुन्थ्यो । तर जेलमा भएको छोरालाई झिकाउन सकिएला भन्ने विश्वास नै थिएन राजुका बुवालाई ।

‘कारोनाको महामारी थियो । देश विदेशमा लकडाउन । त्यसैमाथि छोरा जेलमा’, उहाँले भन्नुभयो, ‘यस्तोमा त छोरालाई ल्याउन सकिएला जस्तो लागेकै थिएन ।’

पीएनसीसीले मलेसियामा रहेको नेपाली दूतवासमा सम्पर्क गर्यो । निरन्तर प्रयासपछि अन्ततः राजु २०२० को अगस्टमा लकडाउनकै बेला नेपाल आउनुभयो । उज्यालो अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय