बिहिबार , बैसाख १३, २०८१

काठमाण्डु – नेकपा एमालेभित्र चर्किएको विवाद उत्कर्षमा पुगेका बेला कारवाहीको शिकार हुँदै गएका नेता माधवकुमार नेपालको समूह रनभुल्ल परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरिसकेको अवस्थामा थप कारवाहीका लागि स्पष्टीकरण सोधिएको छ ।

सांसद पदबाटै किन कारवाही नगर्ने भनेर सोधिएको प्रश्नले नेपाल समूह एकातिर डराएको छ भने अर्काेतिर उपयुक्त विकल्प समेत पहिल्याउन सकेको छैन ।

थप कारवाही नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वाेच्च अदालतमा दायर गरिएको रिटमाथिको प्रारम्भिक सुनुवाइमा निवेदकको माग पूरा भएन । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका २७ सांसदलाई सोधेको स्पष्टीकरणपछि अब कारवाही गर्नसक्ने बाटो खुला नै रहेको छ ।

अध्यक्ष ओलीले पार्टीमा निर्णय गर्दै गराएका र नेपाल समूहमाथि कारवाही गर्दै गएका बेला माधवकुमार नेपाल समूह भने आगामी बाटोबारे रनभुल्ल देखिएको छ । नेपाल समूहले अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन सकेको छैन ।

नेपाल समूहभित्र गम्भीर द्विविधा छ – एमालेभित्र कारवाही भोेगेर समानान्तर गतिविधि गर्ने कि नयाँ पार्टी बनाउने ? माधव नेपाल छुट्टै पार्टी बनाउनुपर्ने पक्षमा छन् तर उनकै समूहमा कतिपय प्रभावशाली नेताहरु भने पार्टीभित्रै संघर्ष गर्नुपर्ने पक्षमा छन् ।

नेता नेपालसहित भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त लगायत छुट्टै पार्टी बनाउनुपर्ने पक्षमा रहेका र योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्ट लगायत प्रभावशाली नेताहरू पार्टीभित्रै संघर्ष गर्नुपर्ने पक्षमा रहेका स्रोतले जनायो ।

नेता सुरेन्द्र पाण्डे भने कतैतिर खुलेका छैनन् । प्रभावशाली नेताहरूबीच नै मतभेद देखिएपछि माधव नेपाल समूह आपसमै विभाजित      भएको छ ।

पार्टीभित्रै संघर्ष गर्नुपर्र्ने पक्षका नेताहरू विवाद मिलाउन अध्यक्ष ओली पक्षसँग समेत भित्रभित्रै कुरा गरिरहेका छन् । ‘पार्टी विभाजन हुने अवस्था नै आयो भने योगेश र घनश्याम कमरेडहरू नयाँ पार्टीमा जानुहुन्न, पुरानै एमालेमा फर्किनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘पार्टी फुटाएर छुट्टै खोल्नुपर्छ भन्ने समूह सानो छ ।’

पार्टी विभाजन गर्नुपर्ने पक्षमा रहेका माधव नेपाल र भीम रावलहरू समानान्तर गतिविधिले आधिकारिकता नपाउने र चुनावमा पार्टीविहीन हुनुपर्ने भएकाले नयाँ पार्टी खोलेरै भएपनि अगाडि बढ्नुपर्ने पक्षमा छन् । तर, नेता नेपालले आफ्नो समूहभित्र कुनै निर्णय गराउन सकेका छैनन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग नयां पार्टी गठनबारे भने निरन्तर परामर्श गरिरहेका छन् । नेता नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत) गठन गर्ने अन्तिम तयारी गरको स्रोतको दावी छ ।

तर उनले प्रधानमन्त्रीबाट ओलीलाई हटाइसकेपछि मात्र पार्टी दर्ता गर्ने निकटस्थहरुलाई बताउने गरेका छन् ।

अध्यक्ष ओलीले बोलाएका महाधिवेशन आयोजक कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आएको नेपाल समूह अब के गर्ने भन्नेमा अनिर्णित रहेको छ ।

कर्णाली प्रदेशमा पार्टी निर्णय विपरीत ‘फ्लोर क्रस’ गरेपछि नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिएकाले नेपाल समूह नैतिक संकटमा समेत फसेको छ । फ्लोर क्रस भइसकेकाले नेपाल समूहमा कारवाही प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सहज भएको छ ।

पार्टी महाधिवेशन आयोजक कमिटीले कारवाही गर्ने अधिकार अध्यक्ष ओली र स्थायी कमिटीलाई दिएको छ ।

महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी पुनर्गठन र जिम्मेवारी बाँडफाँडमा समेत नेपाल पक्षलाई किनारामा राखेको छ । पार्टीका बैठकमा नै सहभागी नहुने भएपछि नेपाल समूह लगातार एमालेबाट टाढा हुँदै गएको छ ।

पुरानो एमालेमा सक्रिय हुन नसक्ने र नयाँ पार्टी पनि गठन गर्न नसक्ने गम्भीर मतभेद नेपाल समूहमा देखिएको छ । यस्तो अन्योलपूर्ण अवस्थामा देशभरमा नेता कार्यकर्ता रनभुल्ल परेका छन् ।

माधव नेपाल समूहका नेता कार्यकर्ताले कांग्रेस र माओवादीलाई फाइदा पु¥याउने गठबन्धनमा सहभागी भएर एमालेलाई सराप्ने काम गरिरहेका छन् ।

तर एमाले पार्टी छाड्न पनि सकिरहेका छैनन् । बरु पार्टी हितविपरीत काम गरेको आरोपमा अध्यक्ष ओलीले लगातार कारवाही प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय