बिहिबार , चैत्र १५, २०८०

विराटनगर

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा सबैभन्दा बढी प्रभावित बनेको जिल्ला मोरङमा प्रहरीले विशेष निगरानी बढाउन थालेको छ । प्रहरीको निगरानीमा सडक प्रयोगकर्ता, सर्वसाधारण मजदुर, सवारी चालक, सार्वजनिक यातायातका यात्रु, कार्यालयका सेवाग्राही तथा व्यवसायी परेका छन् ।

प्रहरीले कोरोना रोकथाम र नियन्त्रणका लागि मास्क र सेनिटाइजर वितरण पनि गर्न थालेको छ ।

कोरोना फैलावट तीव्र बनेपछि मास्क खोई ? अभियानमार्फत सडक, सार्वजनिकस्थल लगायत विभिन्न स्थानमा निगरानी बढाउँदै प्रहरीले मंगलबारबाट थप कडाई थालेको हो ।

प्रहरीको यो अभियानमा नागरिक समाज, पेसाकर्मी, स्काउटकर्मी, सामाजिक अभियन्ता, अधिकारकर्मी, उद्योगी व्यवसायी, सर्वसाधारणसमेतले साथ दिएका छन् ।

प्रहरीले कोरोनाविरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । कोरोनाबाट जोगिनलाई मास्क र सेनिटाइजनको प्रयोग गरौँलगायतका प्लेकार्ड बोकेर सबैको साथ लिँदै अभियानमार्फत नेपाल र ट्राफिक प्रहरी संयुक्त रुपमा सडकमा निस्किन थालेका हुन् ।

निगरानीका क्रममा सडक प्रयोगकर्ता, सवारी चालक र यात्रुले मास्क नलगाउने गरेको पाइएको मोरङको विराट चोकस्थित ट्राफिक प्रहरी पोस्टका इन्चार्ज असइ (सहायक निरीक्षक) किशोर निरौलाले बताए ।

उनले मास्क नलगाउनेलाई कोरोनाबाट बच्नका लागि तत्काल मास्क लगाउन सुझाव दिँदै उपलब्ध पनि गराइएको बताए । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरि हिँड्नेहरुको जमात ठूलो हुँदा कोरोना जोखिम झनै बढेको निरौलाले बताए ।

ट्राफिक प्रहरी पोस्ट कर्सिया मोरङका इन्चार्ज असइ धमेन्द्र राजवंशीले संक्रमणबाट जोगिनका लागि सबैलाई मास्क लगाउन उत्प्रेरित र अनिवार्य गर्न थालिएको जानकारी दिए ।

‘मास्क नलगाउनेलाई तत्काल उपलब्ध गराएका छौँ,’ उनले भने, ‘आगामी दिनमा मास्क नछुटाउन पनि सुझाव दिइएको छ ।’ राजवंशीका अनुसार सडक प्रयोगकर्तालाई सेनिटाइजरसमेत उपलब्ध गराइएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विगत तीन दिनदेखि मास्क लगाउन सबैलाई अनुरोध गर्ने काम भइरहेको बताए ।

‘ट्राफिक व्यवस्थापन चुस्त बनाउनेदेखि लिएर कोरोनाबाट बच्नलाई मास्क लगाउन सबैलाई अनुरोध गर्ने काममा ट्राफिक सक्रियता बढाइएको छ,’ उनले भने, ‘पछिल्लो समय कोरोनाविरुद्धको सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखिएको छ ।’

खड्काले कोरोनाबाट बच्ने र अरुलाई पनि बचाउने अभियानमा ट्राफिक प्रहरी सक्रिय रहेको उल्लेख गरे ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोनाले आक्रान्त बनाइरहेका बेला अधिकांशले मास्क नलगाइकन खुलेआम हिँडडुल तथा जमघट गर्ने गरेको बताए ।

सबैलाई मास्क र सेनिटाइजरको प्रयोग एवं सरसफाइमा साबुनपानीको प्रयोग कोरोनाबाट बच्ने उत्तम उपाय हो भन्ने बारेमा जानकारी दिन सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिएको उनको भनाइ छ ।

‘केही दिनयताजस्तै दैनिक कोरोना संक्रमित बढ्दै गइरहेका छन्,’ खड्काले भने, ‘बेलैमा सबैले सावधानी अपनाउन सकिएन भने अवस्था निक्कै जटिल बन्नसक्छ ।’

उनले सार्वजनिक स्थलमा बढ्दो भिडभाड, भेलाजम्मा भएर गरिने कार्यक्रम, विभिन्न समारोह र गोष्ठी तथा भिडभाडयुक्त सबै खालका कार्यक्रमहरुमा रोक लगाइएको बताए ।

मास्क तथा सेनिटाइजरको प्रयोग, साबुनपानीको प्रयोगसहित नियमित सरसफाई, सामाजिक दूरी कायम, एकअर्काबीचको सम्पर्क तथा हेलमेल र जमघटमा ध्यान दिएमा कोरोनाको ठूलो संकटबाट बच्न सकिनेमा एसपी खड्काको जोड छ ।

उनले कोरोनाको संक्रमण नियन्त्रणका लागि सुरक्षा निकायले विशेष सक्रियता बढाएको जानकारी पनि दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार पछुताउनु र क्षति बेहोर्नुभन्दा बेलैमा सचेत भएर सबैले सावधानी अपनाउँदै स्वास्थ्य मापदण्ड तथा सरकारले बनाएका नियमको पालना गर्नु उत्तम हुने सुझाव दिए ।

नियम नमान्नेलाई अब भने नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐनअन्तर्गत कारबाही गरिने उनले बताए । निरौलाले अब भने नियमको पालना नगर्नेलाई छुट दिनसक्ने अवस्था नरहेको उल्लेख गरे ।

मास्क नलगाउने छुट कसैलाई पनि दिन हुँदैन भन्ने उदेश्यले प्रदेश १ का १४ वटै जिल्लामा एकै साथ अभियान सुरु गरिएको छ ।

‘आफू बच्दै अरुलाई पनि कोरोनाबाट बचाउनुपर्छ भन्ने पवित्र उदेश्यले ट्राफिक सडकमा निस्किएको छ,’ प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले भने, ‘अहिलेको जटिल परिस्थितिमा मास्क अनिवार्य छ भन्ने सन्देश सबैमा पु¥याउन अभियानलाई निरन्तरता दिइने छ ।’

एसपी शर्माले कोरोनाविरुद्धको अभियानमा प्रदेशका १४ जिल्लामा रहेका ट्राफिक प्रहरीका ९४ वटै युनिटलाई परिचालन गरिएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण झन् तीव्र रुपमा फैलन थालेर संक्रमितको संख्या पनि बढ्दै गइरहँदा अवस्था जटिल बन्नसक्ने देखेर ट्राफिकले जनपक्षीय कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

प्रदेश १ मा हालसम्म ३१ हजार सात सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । झन्डै आधा संक्रमित मोरङका छन् । संक्रमितमध्ये मोरङका मात्रै १३ हजार पाँच सयभन्दा बढी छन् ।

प्रदेश १ मा मंगलबारसम्ममा कोरोनाका कारण चार सय ८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । मोरङमा मात्रै एक सय ३८ जनाभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय