
काठमाडौँ
सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ ।
संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् ।
महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । ‘सोमबार र मंगलबार भन्दा बुधबार संख्या बढ्ने देखिएको छ,’ उनले भने ।
यो पनि पढ्नुहोस् ।
निषेधाज्ञाअघि नै घर पुग्ने चटारो
काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएपछि बालाजुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायत ठाउँमा घर फर्कनेको भीड बढेको छ ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।
सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौंमा बस्दै आएकाहरू घर फर्कन थालेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलबार बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ । कान्तिपुर