काठमाडौं ।

नेपालको राजनीतिक इतिहासमा उहाँ सच्चा इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । सरकारमा जान, मन्त्री र प्रधानमन्त्री बन्‍न होइन, अविकसित सामाजिक संरचनालाई परिवर्तन गर्न उहाँ राजनीतिमा होमिनु भएको थियो ।

राष्ट्र बनेपछि मात्रै समाज बन्छ भन्‍नेमा भित्रैदेखि ‘कन्भिन्स्ड’ हुनुहुन्थ्यो । त्यसैका लागि जीवनभर लाग्‍नुभयो ।

नेपालमा जन्मिएर कम्युनिस्ट पार्टीमा लाग्‍ने पहिलो व्यक्ति हो, उहाँ । भारतको बनारसमा पढ्दाखेरि सन १९४५ तिरै उहाँ भारतीय कम्युनिस्ट पार्टीको सदस्य भइसक्नु भएको थियो । जुन बेला नेपालमा कम्युनिस्ट पार्टी खुलेकै थिएन ।

त्यतिबेलादेखि ज्यान जाने बेलासम्म कम्युनिस्ट पार्टी एउटा होस् भन्‍ने धारणा थियो । ‘कम्युनिस्ट पार्टी भयो भने मात्रै गरिब र असहायहरूका लागि लड्ने एउटा औजार हुन्छ’ भन्‍नुहुन्थ्यो ।

२००८ सालमा पहिलो महाधिवेशनबाट नेपालमा कम्युनिस्ट पार्टीको महासचिव बन्‍नुभयो । त्यसपछि बिरामी भएर चार वर्षजति चीनमै बस्नुपर्यो । त्यो बेला यहाँ केशरजंग रायमाझी कम्युनिस्ट पार्टीको महासचिव बन्‍नुभयो ।

२०१७ पुस १ को घटना भएपछि पार्टी फुट्यो । उहाँ र पुष्पलालले राजा महेन्द्रको त्यो कदमको विरोध गर्नुभयो । त्यो बेला उहाँ झण्डै नौ वर्ष जेलमा बस्नुपर्यो । विश्वेश्वरप्रसाद कोइराला र र उहाँ सँगै छुट्नु भएको थियो ।

कम्युनिस्टको सिद्धान्तले जे जसो भने पनि संसदीय व्यवस्थामा उहाँको विश्वास थियो । त्यसैले २००७ सालदेखि भएका कुनै पनि चुनावी कार्यक्रम बहिष्कार गर्नु भएन ।

चुनाव र संसदीय व्यवस्थाबाट नै जनताका समस्या समाधान गर्ने र नयाँ बाटोमा मुलुकलाई लैजान सकिन्छ भन्‍ने धारणा थियो । त्यही भएर बीपीले पनि भन्‍नुभएको छ, कम्युनिस्ट पार्टी भनेको कांग्रेस सरह हो, पुरानै हो ।

२००७ सालमा पार्टी सानो थियो । २, ४ जना मानिस बसेर कुरा गर्ने र निर्णय गर्ने हुन्थ्यो । पार्टी ठूलो भएको छ, त्यससँगै समस्या पनि आएका छन् ।

यी समस्या भनेका हाम्रो सामाजिक अवस्थाका ‘रिफ्लेक्सन’ हुन् । सामन्ती विचार, व्यक्तिवादी सोचले समस्याहरू अहिलेमात्रै होइन धेरै पटक आए ।

कम्युनिस्ट पार्टीका रूपमा अगाडि जान समाजवादको बाटो तय गर्नुपर्छ । बाटो सशस्त्र क्रान्ति, हातहतियारबाट होइन, संसदीय प्रक्रियाबाटै जानुपर्छ भन्‍नुहुन्थ्यो । आखिर माओवादीले पनि १० वर्ष सशस्त्र युद्ध गरे पनि अन्तिममा संसद्मै आए ।

त्यो २००८ सालकै लाइन हो । झापाली केपी शर्मा ओली, सिपी मैनालीहरू पनि पहिला त उपद्रो गर्नै हिँड्या हुन् नि । उहाँ र पुष्पलाललाई त्यतिबेला ‘नेपाली कांग्रेसको पुच्छर’ भने । आखिरमा राजनीतिको लाइन त त्यही नै रैछ नि त । संसदीय व्यवस्थाप्रति उहाँ पूरा ‘प्रतिबद्ध’ हुनुहुन्थ्यो ।

पछि आएर एमालेले जनताको बहुदलीय जनवादको कुरा ल्यायो । त्यो २००७ सालमै थियो, नयाँ ल्याइएको होइन । मदन भण्डारीले आविष्कार गरेको चिज होइन ।

मदन भण्डारीले हा हा गरेका मात्रै हुन । पछि एमाले ठूलो र बलियो उहाँलाई नै अध्यक्ष बनाएपछि भएको हो ।

पार्टीको लाइन भनेको २००७ सालदेखि हालसम्म उहाँले नै बनाएको संसदीय व्यवस्थालाई मान्‍नुपर्छ भन्‍ने छ । संसद् छ, बहुमत छ, जनतामा जाने उपाय पनि त्यही हो । पछि एमालेले गरिरहेको त्यही हो ।

नेपालको विशेष परिस्थितिका कारण संसदीय व्यवस्था भन्दा अरु सोच्न हुन्‍न भन्‍नेमा उहाँ र पुष्पलाल ‘कन्भिन्स्ड’ हुनुहुन्थ्यो । त्यो विचारमा अहिलेका नेता पनि ‘कन्भिन्स्ड’ भएका छन् ।

तर, लोकतन्त्र चलाउने विषयमा अहिलेका नेता धेरै चुकेका छन् । २०४६ सालपछि पनि चुकेकै हुन् । संसद्लाई ठीकसँग चलाउन सकेनन् । त्यसमा हाम्रो पार्टी मात्रै होइन, कांग्रेस पनि उत्तिकै दोषी छ ।

त्यसकारण समाज अत्यन्तै अविकसित छ । नेताहरूको बुद्धि सानो छ । चित्त सानो छ । त्यसैले पनि समस्या छ । नेतृत्वमा व्यक्तिवादी, सामन्तीवादी सोचाइ छ । त्यो एमालेमा मात्र होइन, कांग्रेस र पूर्वपञ्चेहरूको नेतृत्वमा पनि देखिन्छ ।

कम्युनिस्ट पार्टीमा ‘ब्रोड’ भएर एउटा राजनीतिक लाइनका लागि अगाडि बढ्नुपर्छ भन्‍ने सोचाइ नै नेताहरूमा आएको देखिन्‍न । आशा गरौं, समयको कुरा हो विस्तारै हुँदै जान्छ होला । दिमाग लगाएर गर्न नसके पनि चेतेर गर्छन् कि ?

२०४६ सालमा चेतेका थिए, फेरि गडबड गरे । त्यति ठूलो गडबड त होइन । नेताहरूबीच को ‘सरदार’ बन्‍ने भन्‍ने झगडा देखिएको हो । सरदार त जनताले जसलाई पत्याउँछन्, त्यही बन्‍ने हो ।

जनताले माओवादीलाई पनि पत्याउन सके, एमालेहरू पनि हुन सके । पहिला केशरजंग रायमाझीसँग लागेर गएकाहरू पनि हुन सके । त्यसका लागि ‘नर्मल’ प्रक्रियाबाट जानु पर्यो, पार्टीको पद्धतिबाट होइन ।

नेपालमा कम्युनिस्ट पार्टी फुटेको भनेकै संसदीय व्यवस्थाबाट जाने कि पार्टी पद्धतिबाट जाने भन्‍नेमा हो । नीति, सिद्धान्त र त्यस अनुरूपको व्यवस्था बनाउन नसक्ने भएपछि जति टुक्रा भए पनि त्यसको कुनै अर्थ छैन ।

जतिसुकै लडे पनि चुनावमा भाग लिनै पर्छ । चुनावमा लड्न जाँदा बलियो पार्टी नभए हावा खाइहाल्छ ।

यतिखेर अध्यक्ष केपी शर्मा ओलीले जतिसकै फूर्ति लगाए पनि अब दुई तिहाइ कसरी आउँछ ? दुई तिहाइ ल्याउने मानिस ‘डेमोक्रयाटिक’ हुनुपर्ने थियो ।

केपीजी डेमोक्रयाटिक हुनै सक्नु भएन । सरकार चलाउन त दुई तिहाइ चाहिन्‍न । विकास भन्‍ने चिज विस्तारै हुँदै जान्छ ।

एमाले नेतृत्वको सरकारले राम्रो बजेट छुट्यायो भन्छन् । ल्याउने बेलामा त कुन सरकारले नराम्रो बजेट ल्याएको हुन्छ र ? कार्यान्वयन गर्यो कि गरेन भन्‍ने मुख्य कुरा हो ।

बजेट नै खर्च नभएपछि के को विकास हुन्छ ? बजेट गर्न सक्ने प्राविधिक क्षमता हामीसँग छैन । बजेट छुट्याउदैमा विकास हुन्छ भन्‍ने छैन ।

सरकारले बजेट छुट्याउने मात्रै हो । आफैँ कुदेर गएर बाटो पिच गर्ने त होइन नि । त्यसका लागि त प्राविधिक जनशक्ति हुनुपर्यो नि । रातारात यो गर्छु र उ गर्छु भनेर विकास सम्भव छैन ।

राजनीतिक रूपमा नेपाली कांग्रेस र हाम्रो पार्टी कसले विकास गर्दैन भनेको छ र  ? कसैले पनि भनेको छैन । गर्नेले दुई चार पैसा खान खोज्छ । खाए पनि विकास गरेमा केही फरक पर्दैन । अहिले त खान पनि त्यति सजिलो छैन । विजयकुमार गच्छदार, खुमबहादुर खड्काले खान खोज्दा के भयो देखिएकै छ ।

२०१८ सालमा रायमाझीसँग छुटिएपछि पुष्पलालले कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन बनारसमा गर्नुभयो । त्यसबेलामा उहाँ जेलमा हुनुहुन्थ्यो । त्यसबेला नै उहाँले यसरी छुटिएर जान नहुने थियो भन्‍नुभएको हो ।

पार्टी ठूलो हुँदा केही बिग्रदैन । झगडा गर्ने वादविवाद गर्ने पार्टीभित्र बहसबाट नयाँ नीति र योजना निकाल्नुपर्छ, छुटिने होइन भन्‍ने धारणा उहाँको थियो । त्यो जीवनको उत्तरार्धसम्म पनि रहयो ।

त्यसबेलामा सोचाइमा फरक के थियो भने चीनमा माओसेतुङको दबदबा थियो । त्यसैको आधारमा नेपालमा पनि हातहतियार उठाएर सबै चिज बदल्न सकिन्छ भनेर मोहनविक्रमसहितका नेताहरू लाग्‍नुभयो ।

झापाली केपीहरू जंगलतिर लागे । पछि जनवाद ल्यायौं भने । तर त्यो जनवाद २००७ सालमा पनि होइन, लेनिनले नै ल्याएका हुन् । डेमोक्रेसीबाट सोसियालिज्म छुट्टिएर बस्‍न पर्दैन भन्‍ने लेनिनले भनेको कुरा हो । तसर्थ यहाँ ठूला ठूला आविष्कार गर्‍यौँ भन्दै पर्दैन ।

सोभियत संघको समाजवाद रातो भएर होइन, कालो भएर गएको हो । चीनमा अहिलेसम्म गएको छैन, त्यो त्यतिधेरै कालो नभएर अहिलेसम्म गएको छैन ।

जब जनताबाट नेता टाढा हुन्छन्, अनि भ्रष्टाचारमा डुब्छन् र पतनको बाटो तय गर्छ । त्यो हामीले विदेश र स्वदेशबाटै पनि सिक्नुपर्छ ।

लामो दुःख गरेर ल्याएको राजनीतिक व्यवस्था रातारात सकिनु भनेको अचम्मको कुरा हो । कम्युनिस्टहरूले वीपीले देखेको सपना, हामीले पनि देखेका भन्छन्, त्यो के देखेका हुन् उनीहरूलाई नै थाहा होला ?

तर, विकासको बाटो देख्‍ने सबैको सोचाइ एउटै हो । काम गर्ने तौर तरिका मात्रै फरक हुने हो ।

पुरानो पुस्ताका नेताहरू मनमोहन, बीपी, गणेशमान, पुष्पलाल र किसुनजीमा इमानदारी थियो । त्यो इमानदारी हराएको छ । मनबाट नेताहरू इमान्दार हुन सके भने पहिलाको ठाउँमा कुनै गाह्रो छैन ।

आफू ठीक ठाउँमा रहेर काम गर्ने हो । फल तत्काल ल्याउने गरी होइन दिगो गरी ल्याउन सोच्‍नुपर्छ । त्यो गुण उहाँमा थियो ।

संविधान त जसोतसो बनाइयो । त्यही संविधानअनुरूप मुलुक चलिरहेको छ । त्यसलाई कालो बनाउन हामी लाग्यौँ भने चाल रोकिन्छ । त्यही भएर कालो बन्‍ने प्रयास गर्नु भएन ।

उहाँ नेपालको प्रथम निर्वाचित कम्युनिस्ट पार्टीको महासचिव हो । प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हो । पहिलो पटक सरकारले पहिलो पटक उहाँको नाममा ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ खोलेको छ । कुनै पनि जनताको छोरोको नाममा विश्वविद्यालय नेपालमा          खुलेको छैन ।

(मनमोहन अधिकारीका छोरा प्रकाशसँग इकागजका मधुसुधन भट्टराईले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय