शुक्रबार , बैसाख ७, २०८१

भैरहवा, कपिलवस्तु, बाँके

मूल सीमा नाकामा सावधानी अपनाउँदै खुला आवागमनलाई व्यवस्थित बनाइए पनि रूपन्देहीका साना नाका र दशगजाबाट निर्बाध ओहोरदोहोर रोकिएको छैन ।

बेलहिया–सुनौली मूल नाकामा स्वास्थ्य जाँचसहित सावधानी अपनाइए पनि अन्य क्षेत्रमा खुला सीमा छ । खुला सिमानामा सयौं भित्री नाका छन् । साना नाकामा स्वास्थ्य र सुरक्षाकर्मी तैनाथ छैनन् ।

‘भित्री नाकाबाट पहिल्यै पनि स्थानीयको आवागमन भइरहन्थ्यो । त्यसमाथि बेलहिया मूल नाकामा कडाइ गरिएपछि खुलेयाम आवागमन बढ्न थालेको छ,’ सिद्धार्थनगर–२ को सीमावर्ती गाउँ फूलपुरका स्थानीय रामस्वरूप बानियाँले भने, ‘भित्री नाकामा सुरक्षाकर्मीको उपस्थिति पनि छैन ।’

बेलहियास्थित मूल नाकाबाट करिब ४ किमि पश्चिम सिद्धार्थनगर–२ सँग जोडिएको फूलपुर–केबटलिया भित्री नाकामा सोमबार बिहान दुवै मुलुकतर्फ सर्वसाधारणको आवागमन बिनारोकटोक भइरहेको थियो ।

‘खुला सिमानाबाट आवतजावतमा कुनै पनि देशतर्फ रोकावट छैन,’ सीमावर्ती सिद्धार्थनगर–११ का वडाध्यक्ष दिलीप यादवले भने, ‘भारतीय नम्बरका सवारीसाधनबाट भित्री खुला सिमाना हुँदै तरकारी र अन्य सामान भित्रिने गरेको छ ।’

शनिबार र आइतबार सीमावर्ती भारतमा लकडाउन हुने भएकाले खुला सिमानाबाट पनि आवागमनमा कमी हुने र अन्य दिन सामान्य अवस्थामै भइरहेको उनले बताए ।

रूपन्देहीमा रहेको ५९.७ किमि खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको ६ वटामात्र बोर्डर आउट पोस्ट (बीओपी) छन् । धकधही, गोनाहा, मर्चवार, लुम्बिनी, कालीदह क्षेत्रमा स्थानीयको आवागमन वर्षौंदेखि खुला सिमानाबाटै हुँदै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेड क्वार्टरका एसपी राजेश उप्रेतीले बीओपीबाट प्रहरीको नजर पुग्नेसम्मको सिमानाबाट हुने आवागमन यतिबेला रोकिएको बताए ।

प्रमुख जिल्ला अधिकारी आशमान तामाङले मूल नाकाबाहेकको खुला सिमानाबाट हुने आवागमनलाई नियन्त्रण गरी सिमानालाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिले सोमबार रूपन्देहीको खुला सीमा नाकाको स्थलगत निरीक्षण र अध्ययन गरेको जानकारी दिए ।

‘स्थलगत निरीक्षणपछि मात्रै खुला सिमानालाई व्यवस्थापन गर्न कुन योजना ल्याउने भन्ने निर्णय गर्न सक्छौं,’ उनले भने, ‘खुला सिमानालाई व्यवस्थित गर्दा दुवै देशको स्थानीय स्तरमा हुने सम्बन्ध र सुविधालाई पनि ध्यानमा राख्न जरुरी हुन्छ ।’

कपिलवस्तुको दोस्रो ठूलो नाका मर्यादपुर हो । नेपाल र भारततिरबाट सिधै आवतजावत बन्द छ । पहुँच भएका र भनसुन गर्न सक्नेहरू उक्त नाका भएर आवतजावत गर्छन् ।

तर, सर्वसाधारणलाई बन्देज छ । २०७६ चैत ११ गतेदेखि नै उक्त नाका बन्द छ । कागजी रूपमा बन्द भएको नाका हुँदा प्रशासनले पनि बेवास्ता गरेको छ । नेपाल–भारत कतै पनि हेल्थ डेस्क छैन ।

‘गाउँपालिकालाई हेल्थ डेस्क राख्न आग्रह गरेका थियौं,’ सशस्त्रको डंगरी बीओपीका निरीक्षक शंकरसिंह शिखले भने, ‘तर, सुनुवाइ भएको छैन ।’

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सोमबार यशोधरा गाउँपालिकालाई नाकामा हेल्थ डेस्क राख्न निर्देशन दिएको बताए ।

 

सुरक्षाकर्मी छलेर आउजाउ

भारतको रूपैडिया बजार पुगेकी बाँकेकी ६१ वर्षीया इस्लाम अलिलाई प्रहरीले पारि जान दियो तर फर्किन दिएन ।

तरकारी किनेर आएकी उनी केहीबेर दशगजाको स्तम्भ नजिक उभिइन् । त्यसपछि सुरक्षाकर्मीलाई छलेर दशगजा हुँदै मुलुक प्रदेश गर्ने जुक्ति लगाइन् । प्रहरीले देख्नेबित्तिकै लखेट्दै भारततिरै पुर्‍यायो ।

केही घण्टापछि प्रहरीको आँखा छलेर दशगजाबाटै घरतर्फ आइन् । खुला सीमा भएका कारण भारतबाट आउने र त्यसतर्फ जाने क्रम रोकिएको छैन ।

नेपालगन्जस्थित मूल नाका जमुनाहबाट अहिले अति आवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली र भारतीय दुवैको दोहोरो परिचयका कारण पनि लकडाउन प्रभावकारी बनाउन नसकिएको सुरक्षाकर्मीले बताए ।

बीओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाका अनुसार बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय