मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ

कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी बेडको खोजीमा जुटेका छन् । चार दिनमै संक्रमित दोब्बर हुन थालेपछि मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजसँग सम्झौता गरेर बेड बढाउन लागेको हो ।

कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा रहेको भेन्टिलेटरसहितको आईसीयू सघन कक्ष । तस्बिर : मनोज पौडेल/कान्तिपुर
संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने सर्तमा २ सयभन्दा बढी बेड भएको अस्पताल र मेडिकल कलेजसँग मन्त्रालयले धमाधम सम्झौता गरिरहेको सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

‘संक्रमितलाई छुट्टै बेडको व्यवस्था गर्नुपर्ने, उपचार गरेबापत लाग्ने खर्चबारे अस्पताल र मेडिकल कलेजसँग लिखित सम्झौता नै गरिरहेका छौं,’ डा. अधिकारीले भने, ‘१५ वटा मेडिकल कलेजसँग सम्झौता भइसकेको छ ।’

एउटा मेडिकल कलेजमा कम्तीमा ३ सय बेड हुन्छ । मन्त्रालय र अस्पतालबीच भएको सम्झौतामा कोभिड केयर युनिट सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि दैनिक ३ हजार ५ सय, मध्यमका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ हरेक महिना भुक्तानी गर्ने गरी सम्झौता भएको नेपाल मेडिकल कलेजका एक कर्मचारीले बताए ।

कुनै बिरामीले आफ्नै खर्चमा क्याबिन सुविधासहितको उपचार गर्न चाहेमा सरकारले तोकेको मूल्यमा ५० प्रतिशत थप गरी शुल्क लिन पाउनेछ,’ सम्झौतामा भनिएको छ ।

१५ बेडसम्मको अस्पतालसँग स्थानीय तहले, २ सय बेडभन्दा तल प्रदेशले सम्झौता गरेर संक्रमितको उपचार गर्ने बेडको जोहो गरिरहेको अधिकारीले बताए ।

अस्पतालको बेड भरिएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिक कक्षबाहिर अक्सिजनको पाइपलाइन जडान गर्न लागेको छ ।

‘अहिले गम्भीर अवस्थाका बिरामी आउँदा अक्सिजनसहितको बेड पाउने सम्भावना न्यून हुँदै गएको छ,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने, ‘अक्सिजन चाहिने बिरामी आफैंले अक्सिजन जोडेर सास फेर्न सकून् भनेर कोसिस गरिरहेका छौं ।’

आकस्मिक कक्षबाहिर ६ वटा लाइन एक साताभित्र जोड्ने उनले बताए । खरिपाटी, दहचोकको मनमोहन मेमोरियल अस्पताल, वीर अस्पतालको नयाँ भवनलाई आइसोलेसन बनाउन लागिएको सहायक प्रवक्ता डा. अधिकारीले बताए ।

‘वीरको नयाँ भवनको एक तल्लामा कम्तीमा २ सय बेड विस्तार गर्न लागिएको छ,’ वीर अस्पतालका संक्रमितको व्यवस्थापनको नेतृत्व गरिरहेका डा. अच्युत कार्कीले भने, ‘नयाँ संरचनासँगै जनशक्ति पनि थप गर्नुपर्ने अवस्था छ ।’

कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रमा पनि डेढ सयको उपचार गर्न संरचना तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो पटक सेनाले खरिपाटीस्थित विद्युत् प्राधिकरणलाई आइसोलेसन बनाएको थियो । संक्रमित कम भएपछि संरचना हटाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नागार्जुन नगरपालिकामा सुकुम्बासीका लागि तयार गरेको भवन पनि मन्त्रिपरिषद्कै निर्णयबाट एक गैरसरकारी संस्थालाई तीन वर्षलाई भोगचलन गर्न दिइसकेको पाइएको मन्त्रालयले जनाएको छ । यो भवनमा अघिल्लो पटक ५ सय जनासम्म संक्रमितलाई आइसोलेटेड गरिएको थियो ।

कीर्तिपुरको आयुर्वेद अस्पतालमा जडान गरेको बेड पनि उठाइसकिएको छ । ‘फेरि नयाँ जोहो गर्दै छौं,’ एक कर्मचारीले भने । मन्त्रालयले अस्पताललाई कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिइसकेको छ

३५५६ थपिए, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय पीसीआर परीक्षणबाट ३ हजार ४ सय ४२ र ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ भने कुल संक्रमित ३ लाख ३५ हजार ६१ जना छन् । सक्रिय संक्रमितको संख्या २२ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय