बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।

बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’

सोमबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगन गर्नुका साथै सीमानाका बन्द गर्नुपर्ने, विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने लगायतका व्यवस्ता गर्न सरकारलाई सिफारिस गरेको थियो ।

 

साथमा यो पनि

विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलंकीले आज संयुक्त रुपमा कलंकीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान शुरु गरेका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलंकी चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ ।

कलंकी चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताए ।

प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलंकी क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले आज बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ ।

प्रहरीले विश्वमा फैलँदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर एक हजार तीन पुरुष र ३२२ महिलाई पक्राउ गरेर सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय