शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने भन्दै अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नबढाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका लागि अहिलेसम्म संख्या नपुगेको बताए ।

संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भएमा एक वर्षसम्म राख्न नपाइने भएकाले पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव नल्याउने उनले बताए ।

बैठकले नेपालमा अन्य देशबाट खोप ल्याउनका लागि अन्य देशसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै पदाधिकारी बैठकले सोमबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र बुधबार बैठक बस्ने तयारी गरिएको उनले बताए ।

बैठकमा क्रियाशील सदस्यता वितरणको अवस्था, विभिन्न सात जिल्लामा रोकिएको समायोजनको काम तथा महाधिवेशनको कार्यतालिकका विषयमा पनि छलफल भएको उपसभापति निधीले बताए ।

न्यूज ट्वान्टिफोर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय