शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल नेपाल फर्किएका छन् ।
मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएका हुन् ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले बेद दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेर तीन महिना अचेत अवस्थामा कोमामा थिए । ‘फ्यामिली केयर हस्पिटल’मा नियमित स्वास्थ्य उपचारपछि उनको स्वास्थ्यमा सुधार आयो । तर उपचार खर्च तिर्न नसक्दा उनीविरुद्ध अस्पतालले मुद्दा हाल्यो ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार लामो समयसम्म अस्पतालको बसाइ र उपचार गरेर बेदबहादुरको खर्च आठ लाख साउदी रियाल अर्थात् २ करोड ५० लाख बढी नेपाली रुपैयाँ उठेको थियो ।

तर उनी एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरिरहेको अवस्थामा दुर्घटना परेका कारण कसैले पनि उपचार खर्च तिर्ने जिम्मा लिएन ।

पछिल्लो समय साउदीले आफ्नो कानुनमा सुधार ल्याउँदै कामदारले सजिलै कम्पनी परिवर्तन गर्न पाउने नियम लगाए पनि त्यतिबेला यस्तो अवस्था थिएन ।

यसरी एक कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्नु त्यतिबेला अवैधानिक मानिन्थ्यो । उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले उहाँविरुद्ध मुद्दा दायर गरि नेपाली दूतावासको जिम्मा लगाएको थियो ।

साउदीको कानुनअनुसार कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागेको छ भने मुद्दा फर्छ्यौट नभएसम्म साउदी छोडेर जान पाइँदैन । त्यही भएर लामो समयसम्म बेदबहादुर दूतावासकै सेल्टरमा बसे ।

दूतावासका अनुसार अस्पतालको बिल निकै ठूलो रकम भएको र उहाँ गैर कानुनी रुपमा रहनुभएको हुँदा त्यतिबेला रकम कसैले पनि तिर्ने अवस्था थिएन ।

तर बेदबहादुरलाई नेपाल पठाउने म्यानपावर कम्पनी र पहिले काम गर्ने कम्पनीसँग भनेर २५ २५ हजार साउदी रियाल बेहोर्ने गरि दूतावासले बेदबहादुरको तर्फबाट वकिल पनि राखिदिएको थियो ।

त्यति गर्दा पनि दुई वर्ष सम्म कुनै पनि कानुनी प्रगति भएन ।
परदेशका आफ्नो नागरिक यसरी उपचार खर्च तिर्न नसकेर एक प्रकारको ‘बन्दी’ जस्तै भएर बसेको अवस्था थियो ।

दूतावासले बेदबहादुरलाई नेपाल पठाउन साउदीका धेरै सरकारी निकाय धाउने काम पनि गर्यो तर केही सम्भावना देखिएन । केही नलागेपछि अस्पतालसँगै कुरा गरेर बेदबहादुरको मुद्दा फिर्ता लगाउनुको विकल्प नदेखेपछि दूतावासले त्यही कदम अगाडि बढायो ।

‘अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटकको भेटवार्ता र पत्राचारमार्फत भुजेल विरुद्धको मुद्दा फिर्ता लिएर नेपाल फर्काउन अनुरोध गर्यौं’,

दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गएको दुई हप्ताअघि अदालतमा रहेको भुजेलको मुद्दा फिर्ता लियो । त्यो सँगै बेदबहादुरलाई नेपाल पठाउने बाटो खुल्यो ।’

त्यति ठूलो रकम मिनाहा गरि बेदबहादुर विरुद्धको मुद्दा फिर्ता लिइ दिएकोमा साउदीमा रहेको नेपाली दूतावासले ‘फ्यामिली केयर हस्पिटल’ प्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय