बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

प्रहरीले ‘तपाईंको मास्क खै?’ अभियान सञ्चालन गरेकाे छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे संयुक्त आयाेजनमा ‘तपाईंको मास्क खै?’ अभियान सञ्चालन गरेकाे हाे।

सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरले जनहितमा जारी सन्देशसहित अभियान चलाएको हो।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख शंकर खड्काले उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारी साधन तथा आमनागरिकलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएकाे बताए।

मास्क नलगाउने र अटेर गर्नेलाई कलंकी चाेककाे ‘हाेल्डिङ जोन’मा दुई घण्टा राखी सम्झाइ-बुझाइ र मास्क किन्न लगाई छाडिएकाे कलंकी प्रहरी प्रमुख मिठ्ठु खड्काले बताए।

कलंकी चाेक वरपर मास्क नलाई हिँड्ने २१ जनालाई दुई घण्टा ‘हाेल्डिङ जोन’मा राखिएकाे छ। अभियानअन्तर्गत चन्द्रागिरि, कंलकीलगायत स्थानमा अभियान सञ्चालन गरिने कलंकी ट्राफिक प्रमुख खड्काले जानकारी दिए।

 

यो पनि पढ्नुहोला ।

 

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको पिसिआर परीक्षणकाक्रममा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पछिल्ला १३ दिनमा मात्रै यहाँ ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्वतालमा अहिले ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अन्य संक्रमितहरु होम आइसोलेसनमा छन्।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर सरोज रोशन दासकाअनुसार वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उक्त अस्पताललाई कोरोना संक्रमित बिरामीको मात्रै उपचारमा केन्द्रित गरिएको छ। ‘अस्पतालका ४८ शैयामा कोरोना संक्रमित र संक्रमणको लक्षण भएका बिरामी छन्, बाँकी ४२ शैयालाई पनि सोमबारबाट कोरोना संक्रमितकै उपचारका लागि प्रयोग गर्दैछौं,’ उनले भने।

यस अस्पतालमा अहिले एक सय वटा अक्सिजन भरिएका सिलिण्डर छन्। ‘तत्कालका लागि अक्सिजनको समस्या छैन,’ उनले भने, ‘वीरगञ्जमा जुन तरिकाले संक्रमितको दर बढिरहेको छ त्यो हेर्दा केही दिनमा अस्पताल संक्रमितले भरिने देखिन्छ। त्यो अवस्थामा हामीलाई अक्सिजनको सिलिण्डर पुग्दैन।’

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जिल्लामा लक्षण देखिएकाहरु मात्रै पिसिआर परीक्षणका लागि पुग्ने भएकाले पोजेटिभको संख्या बढी देखिएको बताए। ‘परीक्षणको दायरा फराकिलो बनाउन सकिएको छैन। समुदायमा जान सकेको भए पोजेटिभ नतिजा देखिनेको दर कम हुन्थ्यो होला,’ उनले भने, ‘तैपनि वीरगञ्जको अवस्था अहिलेसम्म नियन्त्रणमै छ।’

उनले अहिलेको अवस्थामा जिल्लामा अक्सिजनको अभाव नहुने बताए। ‘अस्पताल भर्ना हुनैपर्ने बिरामीको संख्या ह्वात्तै बढ्यो भने त के होला भन्न सकिन्न,’ उनले भने, ‘अहिलेका लागि भने व्यवस्थापन गर्न सक्ने अवस्थामै छौं।’

भारतीय सीमा क्षेत्रमा कडाई गरिएको घिमिरेले बताए। ‘विवाहका लागि न्यूनतम संख्यामा वारपार गर्न दिएका छौं, भारतबाट घर फर्कनेलाई सहजीकरण गरिदिएका छौं,’ उनले भने, ‘अन्यलाई कडाई गरिएको छ।’

प्रजिअ घिमिरेले स्थानीय तह र स्वास्थ्य कार्यालयले होम आइसोलेसनमा रहेकाहरुको अनुगमनको जिम्मा लिएको बताए।

वीरगञ्जमा सरकारी बाहेकका अन्य अस्पतालले अझैपनि कोरोना संक्रमित बिरामीको उपचार गराउन थालेका छैनन्। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने केही ठूला निजी अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको जानकारी गराएको बताए। ‘यस विषयमा पनि हामी अनुगमन गर्छौं, उनीहरुको चिन्ता र चासोलाई पनि बुझ्छौं,’ उनले भने।

 

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय