शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

काठमाडौं उपत्यकाका अस्पतालमा आइसियू अभाव भएपछि जटिल संक्रमितहरू भर्ना गर्न समस्या भएको छ।

अहिले अस्पतालहरूमा दैनिक मानिसहरूले आइसियूका लागि फोन गर्ने गरेको चिकित्सकहरू बताउँछन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, ‘हिजोमात्र मलाई झन्डै चालिस जनाले आइसियूका लागि फोन गर्नुभयो। तर अस्पतालमा राख्ने ठाउँ छैन।’

काठमाडौंसहित उपत्यका बाहिरबाट पनि आइसियू बेडका लागि फोन आउने गरेको भन्दै उनले अब अस्पतालले धान्न नसक्ने जनाए।

‘नेपालगञ्ज, बुटवलबाट आइसियूका लागि फोन आउँछ। अब टिचिङले मात्र सक्ने कुरा हुँदैन। अब त्यहाँका बिरामीलाई त्यहीँ हेर्नुपर्छ,’ काफ्लेले भने।

अहिले टिचिङमा कोभिडका लागि भनेर १२ वटा आइसियू बेड छन्। जसमा ११ जना संक्रमित उपचाररत छन्। ४ जना भेन्टिलेटरमा छन्। अब थप आइसियू बेड विस्तार गर्न सकिने भन्दै डा. काफ्लेले अब बढीमा पाँच वटा आइसियू थप्न सकिने जनाए।

आइसियू अभाव हुन थालेपछि अस्पतालले एचडियू बेडलाई नै थप उपकरण जडान गरेर अस्थायी आइसियू बनाउने तयारी गरिएको डा. काफ्ले बताउँछन्।

उनले ५० वटा एचडियू बेड तयार रहेको भन्दै त्यसमध्ये केहीलाई आइसियूको रूपमा प्रयोग गरिने जनाए।

वीर अस्पतालका कोभिड संयोजक डा. अच्युतराज कार्कीले पनि केही दिनयता जटिल संक्रमितका लागि आइसियू बेड चाहिने भन्दै फोन आउने गरेको सुनाए।

उनले रातका समयमा धेरै फोन आउने भन्दै सेतोपाटीसँग भने, ‘रातरात फोन आउँछ। कुनै काठमाडौंबाट र कुनै बाहिरबाट पनि हुन्छ। आज रातिमात्र चार जनाले आइसियूका लागि फोन गर्नुभएको थियो।’

उनले आइसियूका लागि तारान्तार फोन आएपछि बेड उपलब्ध गराउन भने नसकिएको बताए।

‘बुटवल, पाल्पा र नेपालगञ्जबाट पनि फोन गर्नुहुन्छ। तर यहाँ बेड खाली छैन। त्यसैले त्यहाँका बिरामीलाई ‘त्यतै आइसियू मिलाउन प्रयास गर्नू’ भन्छौं। नेपालगञ्जबाट फोन आयो भने ‘चितवनमा हेर्नू’ भन्छौं।’

उपत्यकाका धेरै अस्पतालमा अहिले उहीँ समस्या छ। अर्थात् धेरै अस्पतालमा सामान्य अक्सिजन चाहिने संक्रमितका लागि ठाउँ भए पनि जटिल अवस्थाका संक्रमितका लागि भने आइसियू बेड खाली छैनन्।

वीर अस्पतालले कोरोना संक्रमितको संख्या बढेपछि आफ्नो बन्दै गरेको नयाँ भवनलाई कोरोनाको मात्र उपचार गर्ने गरी तयार पार्न काम अगाडि बढाएको छ। अस्पतालका कोभिड संयोजक डा. अच्युतराज कार्कीले नयाँ भवनमा ३ सय बेडको कोभिड सेवा सुरू गर्ने गरी काम अघि बढाइएको जनाए।

पछिल्लो समय कोरोनाको नयाँ प्रकार (भेरियन्ट) नेपालमा पनि तीव्र फैलिएपछि अस्पतालमा जटिल संक्रमितहरू भर्ना हुने क्रम बढेको हो।

चैत महिनाअघि छिटफुटमात्र संक्रमित रहेको अस्पताल अहिले संक्रमितले भरिएका छन्।

अब थप संक्रमितलाई कसरी भर्ना गर्ने भनेर अस्पताल दोधारमा छन्।

केहीले ‘नन कोभिड’ सेवालाई घटाएर कोभिड सेवा बढाउन प्रयत्न गरिरहेका छन्।

नयाँ भेरियन्ट पहिलेको भन्दा कडा रहेका कारण पनि जटिल संक्रमितहरू बढेको चिकित्सकहरू बताउँछन्।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन्, ‘अहिले मानिसहरू तुरून्तै अस्पताल नआउँदा समस्या भएको छ। कतिले परीक्षण नै गर्नुहुन्न। पछि समस्या जटिल भएपछि मात्र आउनुहुन्छ। आएकाहरूमा जटिल कोभिड निमोनियाको समस्या देखिएको छ।’

डा. शाक्यले शंका लाग्नसाथ परीक्षण गर्ने र अस्पताल आउनसके अहिलेको अवस्थामा धेरै सुधार आउने जनाए।

अहिले मानिसहरूले कोरोनालाई हल्का रूपमा लिएका कारण पनि यो समस्या आइपरेको कतिपय विज्ञहरूको बुझाइ छ। तर पहिलेको भन्दा नयाँ भेरियन्ट थप संक्रामक र घातक रहेको भन्दै यसलाई हेलचेक्रयाइँ नगर्न उनीहरूको सुझाव छ।

सरकारले भने अस्पतालहरूमा आइसियू अभाव हुँदै जाँदा पनि तत्काल त्यसको समाधानबारे कुनै ठोस कदम चालेको देखिँदैन। यहीँ अवस्था आउनसक्ने आकलन गरेर गत कात्तिक महिनामै ३ हजार एचडियू बेड थप्ने भनिएकोमा पाँच सय पनि थप गर्न सकिएको छैन।

विज्ञहरूले भने सरकार कोरोनाको पछि पछि हिँडेको भन्दै संक्रमण यहीँ तरिकाले फैलिरहे स्थिति भयावह हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय