मंगलबार , चैत्र ६, २०८०

बल्ल भेटियो सन्दीप निर्दोष भएको प्रमाण, हातमै बोकेर रातारात सन्दीप पुगे सर्वोच्च अदालत !

सन्दीप लामिछानेले गुहारे सर्वोच्च अदालत, पेशी भोलीलाई तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उच्च अदालत पाटनले आफूलाई २० लाख धरौटी लिएर सर्तसहित छोड्न दिएको आदेशका विरुद्ध लामिछानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायरे गरेका हुन् ।

लामिछानेको मुद्धाको पेशी भोलिका लागि तोकिएको छ ।

कहाँबाट सल्कियो यो मास हिस्टेरिया ?

दुई साताअघि, ६ फेब्रुअरीमा टर्की र सिरियामा गएको विनाशकारी भूकम्पपछिका दृश्य जति भयानक छन्, त्यति नै चिन्ताजनक छन् त्यहाँ भएका लुटपाट ।

युरो न्युज टेलिभिजनमा एक स्थानीय सज्जन भन्दै थिए, ‘रासन पसलबाट खाद्यान्न, फेन्सी स्टोरबाट लुगा लगेको भए ठीकै हो भन्न सकिन्थ्यो किनकि मान्छेहरू भोकैप्यासै छन्, तर यहाँ त सिधै सपिङ मलका सोरुमभित्र छिरेर मान्छेहरू झोलाभरि मोबाइल उठाउन थालेका छन्, यो त अति भयो । के मानवता हराएकै हो ? के सभ्यता सकिएकै हो ?’

टर्कीमा जस्तै, ठ्याक्कै ७.८ म्याग्निच्युडको भूकम्प नेपालमा आएको थियो, आठ वर्षअघि । आठ हजार नौ सयको ज्यान गएको थियो भने दोब्बर घाइते भएका थिए । करिब १० लाख नेपाली घरबारविहीन भएका थिए । नेपालको यो कहालीलाग्दो विपत्तिमा अन्तर्राष्ट्रिय मिडिया र उद्धारकर्मीले आश्चर्य प्रकट गरेका थिए, ‘यस्तो भवितव्यमा पनि लुटपाट भएन ।’

उनीहरू चकित परेका थिए किनकि त्यसको पाँच वर्षअघि हैटीमा भूकम्प जाँदा राजधानी पोर्ट औ प्रिन्समा लुटपाट रोक्न प्रहरीले गोली चलाउनुपरेको थियो । पोर्ट औ प्रिन्समा घरका भग्नावशेषबाट बोराका बोरा सामान लुटेर हूलका हूल मान्छे निस्किएको देखेको उद्धारकर्मीका अगाडि काठमाडौंका मान्छेहरू आफैं चाउचाउ खाएर भए पनि चामलका बोरा बाँड्न गाउँ–गाउँ पुगिरहेका थिए ।

तर, आज सोध्नैपर्ने भएको छ– के यो त्यही नेपाल हो ? साताअघि गोंगबुको सपिङ मल फोरेर अँगालोभरि मोबाइल बोकेर बेपत्ता दौडिरहेको हूलको भिडियो देख्ने विदेशीले नेपालको काठमाडौं, टर्कीको गाजियान्टेप र हैटीका पोर्ट औ प्रिन्समा के भिन्नता देख्लान् ?

विडम्बना के भने, गोंगबुको मोबाइल पसलमा हात सफाइ गर्नेहरू पेसेवर लुटेरा होइनन्, उनीहरू त यातायात मजदुरमाथि प्रहरी अत्याचार भएको भन्दै न्यायको पक्षमा उत्रिएका आन्दोलनकारी हुन् । तर, न्यायको ब्यानर बोकेरै पनि मान्छेले अर्काको दुःखजिलोमाथि कसरी ज्यादती गर्न सक्छ ? गोंगबुको भीडले सचित्र देखाइदिएको छ ।

हाम्रो राज्य राजनीतिक र आर्थिक रूपमा रुग्ण भएकाले समाजमा चरम निराशा छ । तर, त्यो निराशा कसरी अभिव्यक्त भइरहेको छ ? मोबाइल पसलको भित्तो फोरेर ? सामाजिक सञ्जालको भित्तो फोहोर गरेर ? वा स्वास्थ्य, शिक्षा र रोजगारीमा आफ्नो अधिकारको पक्षमा प्रश्न गरेर ?

सकेको ठाउँमा पेल्न नछाड्ने र नसकेको ठाउँमा रुन नछाड्ने हाम्रो समाज अहिले यस्तो बटुवा भएको छ, जसको गन्तव्य आफैंलाई थाहा छैन । बाटोमा जन्ती आए नाच्दै जाने, मलामी भेटिए रुँदै हिँड्ने हाम्रो समाजलाई मान्छेहरूले चौबाटोको मादल बनाएर बजाइरहेका छन् । यो समाज रवि लामिछानेसँग मिलेर हर–एकलाई ‘ठेगान’ लगाउन चाहन्छ, सन्दीप लामिछानेसँग मिलेर छोरीहरूलाई ‘सुधार्न’ चाहन्छ, दुर्गा प्रसाईंसँग मिलेर बैंकरलाई किस्ताबन्दीमा कालो मोसो बुझाउन चाहन्छ र ज्ञानेन्द्रसँग मिलेर नारायणहिटीको गद्दीमा आफै विराजमान हुन चाहन्छ ।

सामाजिक सञ्जालमा अहिले भइरहेको बहसको भाषाले जम्बिज फिल्मका कथा पछ्याइरहेको भान हुन्छ । सयौं जम्बिज फिल्म छन्, सन् २०१६ मा आएको फिल्म हो– ‘ट्रेन टु बुसान ।’ कोरियाको राजधानी सोलबाट बुसानतर्फ गइरहेको रेलमा एक संक्रमितले परिचारिकालाई टोक्छ, परिचारिकाले आफ्नो सहकर्मीलाई टोक्छिन्, सहकर्मीले यात्रुलाई ।

यात्रुले यात्रुलाई टोक्न थालेपछि रेलभित्रै भागदौड हुन्छ । तर, आफैंलाई जोगाउन भागिरहेको यात्रु पनि संक्रमित भएर अरूलाई टोक्न दौडिरहेको हुन्छ । सँगै सिटमा बसेको यात्रु कहाँ जाने हो ? त्यसले आफूलाई के अवरोध गरेको छ ? यसको पर्वाह नगरी बुसान जाने रेलका यात्रुले जसरी एकले अर्कालाई दौडाइरहेका हुन्छन्, हाम्रो सामाजिक सञ्जालमा पनि ठीक त्यही भवितव्य देखिन्छ । कसैले कसैलाई सराप्न, अपशब्द बोल्न र धम्की दिन त्यस्तो खास कारण के पर्‍यो भन्ने कसैलाई थाहा छैन, मात्र टोक्न र लखेट्न हतारो छ ।

हाम्रो समाज बिरामी किन भयो ? यो ‘मास हिस्टेरिया’ कहाँबाट सल्कियो ? आज संसद्, न्यायालय र राज्य संयन्त्रका सारा नीति र निर्णय इन्टरनेटमा भेटिन्छन्, तर हातमै भएको मोबाइलमा उपलब्ध दस्तावेजको एक लाइन पनि नपढी सिधै आफ्नो फैसला सुनाउन मान्छे किन हुर्रिएको छ ? आमसञ्चारका हजार गल्ती होलान्, तर यो समाचारमा यो तथ्य किन गलत लेखेको भनेर एक लाइन पनि उद्धरण नगरी मान्छे आँखा चिम्लिएर, दाह्रा किटेर निन्दा र भर्त्सनामा किन उत्रिएको छ ?

मिडियाले हातहातमै पुर्‍याइदिएको लिंक खोलेर सूचना र तर्क पढेर समर्थन वा आलोचना गर्ने धैर्यसमेत नगरी मान्छे किन खडेखडे गाली–बेइज्जती गर्न रोमाञ्चित हुन थालेको छ ? अझ आफ्ना छोराछोरी, दिदीबहिनी, ज्वाइँजेठान वा साढुले पढ्लान् कि भन्ने नसोची मान्छे किन सार्वजनिकरुपमै अपशब्द लेखिरहेको छ ? आज किन मान्छे आफ्नो शब्द र शैली आफ्नै होनहार सन्तानले अनुसरण गर्लान् कि भन्नेसमेत हेक्का नगरी सामाजिक सञ्जालमा बान्ता गर्न तँछाडमछाड गरिरहेको छ ? मान्छे आज किन आफ्नै उत्तेजनाको सिकार भएको छ ? यो महामारी नियन्त्रण गर्ने खोप पत्ता लगाउने हो भने यसको जरो उत्खनन गर्नु जरुरी छ ।

हाम्रो समाजमा मान्छेमाथि विभेद छ, नागरिकका आधारभूत मुद्दामा राज्यबाट चरम उपेक्षा छ । त्यसको विरोधमा संस्थापनमाथि अथाह आक्रोश छ । तर, आक्रोश पोख्ने वैधानिक र जिम्मेवार तर्क किन हरायो भनेर विमर्श गर्ने हो भने सुरुवात शिक्षा प्रणालीबाट गर्नुपर्छ ।

हाम्रो शिक्षा प्रणालीले शासनका बेथितिविरुद्ध जिम्मेवार प्रश्न गर्ने तर्कशील नागरिक उत्पादन गरिरहेको छ कि षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने र वरिपरिका सारा संयन्त्रलाई खारेज गर्ने उन्मादी भीड बढाइरहेको छ ? राष्ट्रिय परीक्षा बोर्डले गत भदौ तेस्रो साता कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो, जसमा ५२ प्रतिशत विद्यार्थीले नन ग्रेडिङ (एनजी) मोहर लागेको मार्कसिट पाए ।

अर्थात् कुल पूर्णाङ्क ४ मा १.२१ जीपीए पनि ल्याउन नसकेका १ लाख ८८ हजार किशोरकिशोरी कुनै पनि विषय लिएर कुनै पनि विश्वविद्यालयमा भर्ना हुन अयोग्य भए । नयाँ पुस्तामाथिको यो विपत्तिको जिम्मेवार को हो ? जवाफदेही को हो ?

नेपालमा विद्यालय शिक्षा सुरु भएको १ सय ६९ वर्ष पुगेको छ, तर साक्षरता प्रतिशत ७० प्रतिशत वरिपरि मात्र छ । अर्थात् आज पनि करिब एक करोड नेपाली साधारण लेखपढसमेत गर्न सक्दैनन् । संविधान र कानुनले शिक्षालाई निःशुल्क भनेको छ, तर कक्षा ११ र १२ पढाउन सरकारले कति शिक्षक राखेको होला ? जवाफ हो– शून्य ।

हो, कक्षा ११ र १२ का करिब आठ लाख विद्यार्थीका लागि स्थायी वा अस्थायी शिक्षकको दरबन्दी शून्य राखेर शतप्रतिशत जिम्मेवारी व्यवसायी वा समुदायलाई दिएको राज्यले सीपयुक्त, जागरुक र सकारात्मक ऊर्जाले भरिपूर्ण नागरिक उत्पादन गर्छु भन्नु अर्को विडम्बना हो ।

दक्ष शिक्षकको विषय टाढै छ, विद्यालयस्तरमा ५८ हजार शिक्षकको अभाव छ भनेर पूर्वशिक्षा सचिव महाश्रम शर्माको कार्यदलले भनेको थियो । विद्यालयमा शिक्षक छैनन् भनेर लेखिएको प्रतिवेदनलाई सम्बोधन नगरी सरकारले उनै शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव बनाएर विद्यार्थीका कापी काट्न रातो कलम दियो । परिणाम के हो भने ५२ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भए ।

अझ, विश्वविद्यालय पुगेका विद्यार्थीको मनोदशा कस्तो होला ? देशका १२ मध्ये जेठो त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिका रूपमा डा. धर्मकान्त बाँस्कोटा आएपछिका तीन वर्षमा तीन सय दिन तालाबन्दी भयो । ४० केन्द्रीय विभाग, ६२ आंगिक क्याम्पस र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पसको नेतृत्व गर्ने विश्वविद्यालय तीन सय दिन बन्द हुँदा न उपकुलपतिले जिम्मेवारी लिनुपर्ने ?

न सरकारले जवाफ दिनुपर्ने ? न विद्यार्थी संगठनका पीठाधिपतिहरूले बालकोट, बालुवाटार, खुमलटार वा धुम्बाराहीमा कम्तीमा एक घण्टा वार्ता गर्नुपर्ने ? अनि यो प्रणालीले आफ्ना अधिकारका बारेमा तर्क राख्ने नागरिक उत्पादन गर्छ कि कुण्ठा र क्रोधले ग्रस्त भीड जन्माउँछ ?

देशमा रोजगारी नपाएर विदेशी भूमिबाट रेमिट्यान्स पठाइरहेको युवा क्रोधित छ । स्वदेशमै उद्यम व्यवसाय गर्छु भनेर ऋणधन गरेको व्यवसायी ब्याजमा चुर्लुम्म डुबेर विरक्त छ । चार वर्षअघिसम्म हरेकजसो नेपाली जग्गा कारोबारी बनेको थियो, कोभिडकालमा हरेकजसो नेपाली सेयर खेलाडी बनेको थियो ।

तर, १२ सयबाट ३२ सयसम्मको उछाल लगाएको सेयर बजारले गोता खाएपछि ४० लाख नेपालीको सपना अहिले भेलमा परेको छ । यो सब प्रतिकूलतालाई अभिव्यक्त गर्न र व्यवस्थित बनाउन सिकाउने शिक्षा प्रणाली जीर्ण छ । यस्तो अवस्थामा आत्मविश्वास दिलाउनुपर्ने राजनीतिक संस्थापनको प्रशिक्षण अराजक र गैरजिम्मेवार छ । ठूल्ठूला दलका नेताहरू कार्यकर्तालाई ‘किताब पढ, लेख, तर्क दिएर आलोचनाको सामना गर’ भन्दैनन् ।

हुर्कंदा युवा जम्मा गरेर भन्छन्, ‘तिमीहरू गड्यौला होइनौ, दुई दाँत भएका सर्प हौ, उठ, जाग, टोक ।’ शुभेच्छुकलाई दास र आलोचकलाई दुश्मन मान्न सिकाएर हुर्काइएको यस्तो भीडले दास र दुश्मनको बीचमा मानव भन्ने प्रजाति पनि हुन्छ भनेर कसरी ठम्याउने ? तर, नागरिकको आँत भरिलो होइन, दाँत धारिलो बनाउने राजनीतिक प्रयोगमा खेती एउटाले गर्ने र भकारी अर्काले बाँध्ने जोखिम जहिले पनि हुन्छ । त्यो संभावना अहिले टड्कारो छ । तर, भकारी जसले बाँधे पनि समाजको भलो हुँदैन, क्षति नै हुनेछ ।

उत्तेजना कतिसम्म गैरजिम्मेवार छ भने तत्कालीन राजाले न्युज रुममा सेना पठाउँदा पनि लेख्न र बोल्न पाउने लोकतन्त्रको पक्षमा निर्धक्क उभिएको प्रेसलाई तह लगाउने हुंकारलाई भीडले आफ्नो अभीष्ट बनाएको छ । हिजो ज्ञानेन्द्रले मोबाइल, ल्यान्डलाइन, केबुल टीभी र इन्टरनेटसमेत काटेका थिए भन्ने बिर्सिएको भीड आज ‘राजा आऊ देश बचाऊ’ भन्दै सामाजिक सञ्जालमा उफ्रिरहेको छ । सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकारले विधेयक ल्याउँदा विरोध गर्ने प्रेसको हुर्मत लिने उन्माद आज बेकाबु बनेको छ ।

तर, फेरि पनि अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको धमनी हो भने सचेत नागरिक लोकतन्त्रको पहरेदार । लोकतन्त्रका हरेक पहरेदारले शिक्षा, स्वास्थ्य र रोजगारीसहित नागरिकका आधारभूत अधिकार र सार्वजनिक सेवा प्रवाहमा राज्य संयन्त्रलाई खबरदारी गर्नुपर्छ, अविराम रूपमा ।

तर यही बहानामा समाजलाई भीडमा परिणत गर्ने गुरुयोजनामाथि पनि विवेकपूर्ण हस्तक्षेप गर्नुपर्छ । उत्तेजना र घृणाको गति र आयातन असीमित हुन्छ । घृणाको महामारी कुनै संस्था विशेष, पेसा विशेष र समुदाय विशेषमा सीमित रहँदैन । ‘पर्ख र हेर’ भन्ने सन्नाटा आत्मघाती छ । सायद त्यसैले जर्मनीमा दक्षिणपन्थी फाँसीवादको उदयमा रमाएका धर्मशास्त्री मार्टिर निलोमरले निकै ढिलो गरी आत्मसमीक्षा गर्दै भनेका थिए‚

‘पहिले उनीहरू समाजवादीहरूलाई लिन आए, म केही बोलिनँ किनकि म समाजवादी थिइनँ ।

त्यसपछि, उनीहरू मजदुरहरूलाई लिन आए, म केही बोलिनँ किनकि म मजदुर थिइनँ ।

तब, उनीहरू यहुदीहरूलाई लिन आए, मैले केही भनिनँ किनकि म यहुदी थिइनँ ।

अन्तिममा, तिनीहरू मलाई लिन आए, यो बेलासम्म मेरा लागि बोल्न कोही बाँकी थिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय