बिहिबार , बैसाख ६, २०८१

कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ ।

अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ ।

अहिले राज्यस्तरबाट पनि मास्कमा कडाइ गरिएको छ । तर यति हुँदाहुँदै पनि कस्तो मास्क लगाउने भन्ने मापदण्डको बारेमा भने खासै चासो दिने गरिएको पाइँदैन । अहिले केवल मुख छोप्नुलाई कोरोनाबाट बच्ने उपाय भनिएको छ ।

टेकुस्थित राष्ट्रि जनस्वास्थ्य प्रयोगशालाबाट भर्खरै सेवानिवृत्त भएका भाइरोलोजिस्ट डा. विष्णु उपाध्याय मेडिकल क्षेत्रमा १०० प्रतिशत भन्ने केही पनि हुँदैन भन्छन् । त्यसैले मास्कले पनि कुनै भाइरसलाई १०० प्रतिशत रोक्न मद्धत गर्छ भन्नु उचित हुँदैन ।

त्यसैले अहिलेको महामारीमा ८०/९० प्रतिशतसम्म भाइरसलाई नियन्त्रण गर्नुपनि धेरै ठूलो कुरा हो । त्यसैले मास्क लगाउँदा पनि यसको गुणस्तरबारे ध्यान दिनुपर्ने उनी बताउँछन् ।

मास्कले भाइरस रोक्छ भनेर सबैसँग टाँसिएर कुरा गर्ने, धेरै नजिक हुने जस्तो गर्नु हुँदैन । दुवैले मास्क लगाएको भए पनि भौतिक दुरी भने कायम गर्नुपर्ने उनी बताउँछन् ।

अहिलेको मास्क लगाउनु पर्ने अवस्था लहर र फेसन भन्दा बढी बाध्यता हो । नेपालमा सम्भावित भयावह स्थिति र भारतमा देखिएको कोरोना महामारीको भयावह अवस्थामा मास्क लगाउने मात्रै नभएर सुरक्षित मास्कको खोजी पनि आवश्यक देखिएको छ ।

तर यसको लागि कस्तो मास्क सुरक्षित छ त ? भाइरोलोजिस्ट डा. उपाध्यायले विभिन्न प्रकारका मास्कको गुणस्तरीयताको बारेमा उल्लेख गरेका छन् ।

एन ९५ मास्क

प्रयोगशाला होस् या त अस्पतालमा उपचार गराउने चिकित्सकले जस्तोसुकै बिरामीको पनि उपचार गराउनुपर्ने हुन्छ । अहिले भाइरसको यो महामारीमा कसलाई कोरोना लागेको छ भन्ने यकिन हुँदैन ।

त्यस्तो अवस्थामा बिरामीले खोक्ने हाछ्युँ गर्ने गर्दा त्यसको छिटाले आफूलाई संक्रमण नहोस् भन्नको लागि एन ९५ मास्क प्रयोग गरिन्छ ।

एन ९५ मात्रै लगाएर पनि हुँदैन । त्यो लगाएर बाहिरबाट फेससिल्ड लगाएर त्यसरी मात्रै हामी जोगिन सकिन्छ । एन ९५ अर्थात् यसले भाइरसलाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ भन्ने मान्यता राखिन्छ ।

यसको अर्थ एन ९५ मास्क लगाउनेबित्तिकै ९५ प्रतिशत रोकिन्छ भन्ने चाहिँ हुँदैन । यसमा मास्क लगाउने स्टाइल आदिको आधारमा हुन्छ । मास्क लगाउँदा दायाँबायाँबाट हावा नछिर्ने र नियमित मास्कमा हात लगिरहने गर्नु हुँदैन ।

त्यस्तो अवस्थामा यो मास्कले भाइरस र९५ प्रतिशतसम्म रोक्ने, ब्याक्टेरिया १०० प्रतिशतसम्म, फोहोर १०० प्रतिशतसम्म र पोलिनलाई पनि १०० प्रतिशतसम्म न्यूनीकरण गर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् ।

उपाध्याय यो मास्क बढी गरेर मेडिकल प्रयोजनमा काम गर्नेहरुको लागि उपयोगी हुने गर्छ । त्यसैले अहिले बजारमा पाइने मास्कमध्ये सबैभन्दा उपयोगी एन ९५ मास्क हो ।

सर्जिकल मास्क

भाइरस न्यूनीकरणको लागि सर्जिकल मास्कले पनि ९५ प्रतिशत नै भाइरसलाई रोक्छ भन्ने मान्यता राखिन्छ । तर उपाध्याय सर्जिकल मास्क एन ९५ जस्तो गुणस्तरीय भने नहुने बताउँछन् ।

मेडिकल साइन्स सम्बन्धी जानकारहरु सर्जिकल मास्कले भाइरस ९५ प्रतिशत रोक्छ भने ब्याक्टेरिया, डस्ट र पोलिन समान ८० प्रतिशत रोक्छ भन्ने मान्यता राखिन्छ । यो सामान्यतया सबैले प्रयोग गर्न सक्छन् ।

यो दुवैजनाले प्रयोग गरेर सामाजिक दुरी कायम गर्न सकियो भने यो प्रभावकारी हुने उपाध्याय बताउँछन् ।

फेसनको लागि प्रयोग गरिने मास्क

फेसनको लागि प्रयोग गरिने मास्क नेपालमा पनि पाउने गरिन्छ । कस्पोन्ज मास्क केवल फेसनको लागि प्रयोग गरिने आकर्षक मास्क हो । यो मास्कमा भाइरस रोक्ने क्षमता केवल शून्य प्रतिशत मात्रै हुन्छ ।

यसमा ब्याक्टेरिया, फोहोर र पोलिन रोक्ने क्षमता समान ०.५ प्रतिशत हुने गर्छ । यो अहिलेको भाइरसको लागि केही पनि उपयुक्त नरहेको बताइन्छ ।

कपडाको मास्क

कपडाको मास्क आफैँमा भाइरस रोक्नको लागि प्रभावकारी हुँदैन । कपडाको मास्कले भाइरस एक प्रतिशत पनि रोकिँदैन । तर ब्याक्टेरिया, डस्ट र पोलिनको नियन्त्रणमा भने यो ५० प्रतिशतसम्म प्रभावकारी हुने मानिन्छ ।

उपाध्याय कपडाको मास्कभित्र एउटा सर्जिकल मास्क लगाउने हो भने यो प्रभावकारी हुने मान्यता राख्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय