गिद्ध जोगाउनै सकस : पहिले औषधिले संकट, अहिले विषले

काठमाडौं ।

नवलपरासीमा लामो समय लगाएर संरक्षण गरिएका ६९ वटा गिद्ध (जटायु) गत मंगलबार एकै दिन मारिए । जिल्लाको रामग्राम नगरपालिका–४ मा विष खुवाएर मारेका कुकुरहरूको सिनो फालेर एकै पटक यति धेरै संरक्षित गिद्धको प्राण हरण गरियो ।

संरक्षणकर्मीहरूका अनुसार, लोपोन्मुख डंगर प्रजातिका ३३ वटा, हिमाली प्रजातिका ३३, राज प्रजाति दुई र सानो खैरो प्रजातिको एउटा गिद्ध मारिए । यो घटनाले संरक्षणकर्मीहरूलाई निकै दुःखी बनाउनुको साथै संरक्षण चुनौतीपूर्ण बनेको महसूस गराएको छ ।

पिठौलीमा संचालित ‘जटायु रेस्टुरेन्ट’ का संयोजक डीबी चौधरी रामग्रामको घटनाले गिद्ध संरक्षणको प्रयासमा ठूलो धक्का लागेको बताउँछन् । यो हदको लापरवाहीपूर्ण घटना दोहोरिए गिद्ध संरक्षणमा नेपालले करीब दुई दशकमा पाएको सफलता सिद्धिने चिन्ता व्यक्त गर्दै उनले भने, ‘यस्तो गर्दै गए ५००/१००० गिद्ध मार्न कति समय लाग्ला र !’

उनका अनुसार, मरेका पशुपन्छीको सिनो खाने भएकाले गिद्ध संरक्षण अरूको भन्दा निकैै जटिल हुन्छ । विष खुवाएर मारेका जीवजन्तुको सिनो खाएर गिद्ध लोपोन्मुख भएपछि सन् २००६ मा पिठौलीमा ‘जटायु रेस्टुरेन्ट’ संचालनमा ल्याइयो ।

यो रेस्टुरेन्टले गिद्धहरूलाई विषादीरहित आहारको जोहो गर्छ । शुरुमा एकपटकमा बढीमा ७० वटासम्म गिद्ध देखिने यो सो रेस्टुरेन्ट क्षेत्रमा अहिले यो संख्या ३३४ वटासम्म पुगेको छ । यस्तो आहार केन्द्रको अभ्यास अहिले कैलाली, कास्की, रूपन्देही, दाङ र सुनसरी जिल्लामा पनि थालिएको छ ।

अहिले चितवनको कसरामा ‘गिद्ध संरक्षण तथा प्रजनन केन्द्र’ पनि सञ्चालनमा छ । सन् २००८ मा खुलेको यो केन्द्रलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सञ्चालन गरेको हो । केन्द्रले २०७४ सालमा ६, २०७५ मा १२ र २०७६ मा १३ वटा गिद्ध हुर्काएर प्राकृतिक वासस्थलमा पठाएको थियो ।

सन् २००९ बाट गिद्ध संरक्षणको लागि पाँच वर्षको आवधिक योजना नै बनाइएको थियो । दुई वटा पञ्चवर्षीय योजना सकिएर तेस्रो पञ्चवर्षीय योजना लागू नहुँदै नवलपुरमा एकैपटक ६७ गिद्ध एकै ठाउँमा मारिए ।

गिद्ध विश्वकै लोपोन्मुख चरा हो । शनिको बाहनका रूपमा हेरिने गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । सिनोका कारण फैलिने झाडापखाला, हैजा, आउँ जस्ता रोग नियन्त्रणमा गिद्धहरूको ठूलो भूमिका हुन्छ । सिनोबाट पशुचौपायामा पनि इन्थ्रेक्स, टिबी, ब्रुसेलोसिस लगायत रोग फैलिन्छन् ।

नेपाली समाजमा भने गिद्धलाई फोहोरी, अशुभ भनेर हेलाँ गरिन्छ । आमरूपमा प्रयोग हुने ‘गिद्धे नजर’ शब्दावलीले गिद्धको एकदमै नकारात्मक बिम्व बनाएको छ । चराविद् तथा संरक्षण अभियन्ता सोम जिसी भन्छन्, ‘यस्तो रुढ भाव हटाएर गिद्ध जोगाउँदा हुने फाइदाहरू बुझ्न जरूरी छ ।’

गिद्ध जोगाउनुपर्छ भन्ने जनचेतना नआएसम्म संरक्षण प्रयासमा भाँजो आइरहने उनी बताउँछन् । ‘एउटा–एउटा गरेर जोगाएको गिद्ध एकै ठाउँमा यति ठूलो संख्यामा मारिने अवस्था हटाउन स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्नुपर्‍यो’, जिसी भन्छन् ।

चराविद् डा. हेमसागर बराल संकटापन्न गिद्ध जोगाउन समुदाय नै लाग्नुपर्ने देख्छन् । ‘गैंडालाई जस्तो सीमित ठाउँमा राखेर गिद्ध संरक्षण गर्न सकिन्न’ उनी भन्छन्, ‘उडेर सर्वत्र पुग्ने गिद्ध संरक्षणको मूल चुनौती यही हो, कसैको एउटा गल्ती वा लापरवाहीले ६७ गिद्ध सिध्याएको घटनाले यही पुष्टि गर्छ ।’

गिद्धहरूको विचरण क्षेत्र करीब ३० हजार वर्ग किलोमिटर हुन्छ । यसकारण गिद्ध संरक्षण क्षेत्र नै ठूला हुनपर्ने र समुदायहरू नै यो प्रकृतिको कुचीकारप्रति संवेदनशील बन्नुपर्ने डा. बराल बताउँछन् ।

उनका अनुसार, नेपालमा सानो खैरो, खैरो, हिमाली, राज, सुन हाडफोर, सेतो, डंगर र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये डंगर र सानो खैरो गिद्ध बढी संकटमा छन् । डा. बराल भन्छन्, ‘यसको अर्थ अरू गिद्ध संकटमा छैनन् भन्ने होइन ।’

उनका अनुसार, नेपालमा सन् १९९० पछि गिद्धहरू बढी संकटमा परे । त्यतिबेला नेपालमा करीब १६ लाख गिद्ध रहेको अनुमान थियो । तर, २००० सम्ममा गिद्धको संख्या ९० प्रतिशत घटेर २० हजारभन्दा तल झरे । त्यसपछि नै संरक्षण अभियान पनि शुरू भयो ।

नेपाल पक्षी संरक्षण संघको अध्ययन अनुसार २००२ देखि २०११ सम्म डंगर गिद्ध ९२ प्रतिशत र सानो खैरो गिद्ध ९७ प्रतिशत घटे । पछिल्लो समय गिद्ध गणना भएको छैन, तर संख्या बाक्लिंदै गएको विश्वास गरिन्छ ।

औषधिको संकट टर्‍यो, विषको जोखिम

डा. बरालका अनुसार दक्षिणएशियामा एकाएक गिद्ध घट्न थालेपछि त्यसको कारण अध्ययन गरिएको थियो । घरपालुवा पशुचौपाया बिरामी पर्दा चलाइने डाइक्लोफेनेक/डिप्लोफेनेक औषधिले गिद्धलाई संकटापन्न बनाएको पाइएको थियो ।

यी औषधि खुवाएका पशुको सिनो खाएका गिद्धको मिर्गौलासहित भित्री अंगहरू बिग्रिएको अनुसन्धानमा देखिएको डा. बराल बताउँछन् । उनी भन्छन्, ‘३० मिलिलिटर डाइक्लोफेलेनेक खुवाइएको पशुको सिनोबाट ३५० देखि ८०० वटासम्म गिद्ध मरेको पाइएको थियो ।’

सन् २००४ मा काठमाडौंमा आयोजित संरक्षणकर्मीहरूको सम्मेलनले गिद्ध जोगाउन पहल अघि बढाउने घोषणा गरेको थियो । त्यही पहलअनुसार २००६ बाट डाइक्लोफेनेक/डिप्लोफेनेक रोक्ने अभियान चल्यो । २०१० मा दाङलाई ‘डाइक्लोफेनेकमुक्त जिल्ला’ घोषणा गरियो । हाल काठमाडौंबाहेक नेपालका सबै जिल्ला डाइक्लोफेनेकमुक्त छन् ।

अझै पनि प्रयोगमा रहेका निमोसलाइड, इसिक्लोफेनेक र किटोप्रोफेन लगायत औषधि पनि गिद्धका लागि घातक छन् । ‘हानिकारक औषधिमा प्रतिबन्ध लागे पनि पशुचौपाया र जंगली जनावर मार्न प्रयोग गरिने विषादी गिद्धका लागि अहिले पनि चुनौती हुन्’ संरक्षण अभियन्ता चौधरी भन्छन्, ‘त्यस्ता विषादी प्रयोग निरुत्साहित नगर्ने हो भने गिद्ध जोगाउन सकस नै पर्छ ।’

जोगाउन सकस

उनका अनुसार पश्चिम तराई र मध्यपहाडी क्षेत्रका वनमा बढी पाइने गिद्धले एक पटकमा एउटा मात्र अण्डा पार्छ । अहिले तराई क्षेत्रमा केन्द्रित संरक्षण कार्यक्रम पहाडी र हिमाली क्षेत्रमा पनि लैजानुपर्ने आवश्यकता छ ।

पशुवस्तुमा प्रतिबन्धित औषधिको प्रयोग पूर्ण रूपमा रोकिएको छैन । मौज्दातमा रहेका औषधिहरू अहिले पनि प्रयोग भइरहेका छन् । त्यसलाई रोक्न प्रभावकारी बजार अनुगमन हुनसकेको छैन ।

चराविद् सोम जीसी पहिला डाइक्लोफेनेक जस्ता औषधिको बिक्री रोक्न जिल्ला–जिल्ला गएर निःशुल्क अर्को औषधि वितरण गरेको सम्झन्छन् । उनी भन्छन्, ‘अब गिद्धलाई विषादीरहित आहाराको अभाव नहुने वातावरण बनाउन समुदायमा आधारित संरक्षण अभियान अत्यावश्यक भएको छ ।’

गिद्ध किन चाहिन्छ भन्ने कुरा बुझाएर समुदायकै सहभागितामा संरक्षण अभियान चलाए रामग्रामको जस्तो समस्या नआउने उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले बाघ, गैंडा मात्र जोगाउने होइन, गिद्ध, लाटोकोसेरो जस्ता संकटोन्मुख पन्छीको पनि संरक्षणमा सजग हुनैपर्छ ।’

जटायु रेस्टुरेन्टका संयोजक रहेका संरक्षण अभियन्ता डीबी चौधरी गिद्धको वासस्थानमा असर पुर्‍याउने गतिविधि गर्ने, शुद्ध सिनो खाल्डो खनेर पुर्ने अनि विष खुवाएर मारेका चौपाया खुला ठाउँमा फाल्ने प्रवृत्ति गिद्ध संरक्षणका लागि निकै घातक भएको बताउँछन् ।

‘सरोकारवाला सबै एक भएर जनचेतना अभिवृद्धिमा लाग्नुपर्ने देखियो’ उनी भन्छन्, ‘रामग्राममा गिद्धहरू बिरामी भएको खबर एक दिनअघि नै आएको भए धेरैलाई बचाउन सकिन्थ्यो, तर समुदायमा चेतना नहुँदा अहिलेसम्मको संरक्षणको सफलता नै जोखिममा देखियो ।’

– अनलाइन खवर

२०७८ बैशाख १३, सोमबार ०७:३३ गते 0 Minutes 70 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार