बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरुले  बताएका छन् ।

भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ भने अरु शहरहरुमा पनि सहज बेड पाउन गाह्रो छ । यही गतिमा संक्रमण बढ्दै गयो भने अवस्था भयावह हुनसक्ने चिकित्सकहरुको चेतावनी छ ।

त्यो बेला भारतमा जस्तै अक्सिजनको अभाव हुने त होइन ? भन्ने चिन्ता सुरु भएको छ ।

वितरण प्रणालीमा केही समस्या भए पनि ठूला सहरहरुमा अक्सिजन अभाव हुने अवस्था भने नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निजी उत्पादकहरूले पनि मागअनुसार अक्सिजन उत्पादन र वितरणका लागि आफूहरू तयार रहेको बताएका छन् । ‘अक्सिजन उत्पादनमा हामी आत्मनिर्भर छौं, सिलिण्डर होल्ड हुन रोक्ने र नयाँ सिलिण्डर व्यवस्थापनका लागि सरकारले पहल गरे नेपालले थप चिन्ता लिनु पर्दैन’, नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले भने ।

 

निजी क्षेत्रको उत्पादन क्षमता कति ?

स्वास्थ्य मन्त्रालयले नेपाल अक्सिजन ग्यास उत्पादक संघका पदाधिकारीहरुसँग गरेको छलफलमा एकदमै जटिल अवस्था आयो भने दैनिक पाँच देखि ६ हजार सिलिण्डर अक्सिजनको माग हुनसक्ने आँकलन सुनाएको छ । त्योभन्दा बढी अक्सिजन अहिले नै उत्पादन हुने गरेको कान्तिपुर अक्सिजन उद्योगका अध्यक्ष समेत रहेका शारडाले बताए ।

देशभरमा साना ठूला गरेर निजी क्षेत्रबाट सञ्चालित झण्डै २० वटा अक्सिजन उद्योग छन् । उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको संघका महासचिव नारायणदत्त तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग छन् । उनीहरुको उत्पादन क्षमता अध्ययन भइरहेको संघले जनाएको छ ।

उत्पादित अक्सिजनमध्ये झण्डै ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोगमा खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । ‘अहिले पनि कुल उत्पादनको ७० प्रतिशत मात्रै अक्सिजन स्वस्थ्य संस्था र व्यक्तिको घरमा गएको छ । अक्सिजन उद्योग शतप्रतिशत क्षमतामा चलाएर औद्योगिक प्रयोजन रोक्ने हो भने समस्या हुन्न’, महासचिव तिमिल्सनाले भने ।

वितरणमा समस्या

व्यवसायीहरुका अनुसार अक्सिजन उत्पादन पर्याप्त भएपनि वितरण प्रणालीमा भने समस्या छ । नेपाली उद्योगहरुसँग १० लिटरको एउटा सिलिण्डरका लागि १८÷२० हजार लगानी गर्नुपर्ने भएकाले सिमित सिलिण्डर छन् ।

थोरै सिलिण्डर भएकाले धेरै टाढा पठाउन सक्दैनन् । रुपन्देहीको एक उद्योगका अनुसार हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन सप्लाइका लागि आग्रह गरेको थियो । तर त्यहाँ सिलिण्डर पठाउँदा महिना दिनसम्म पनि होल्ड हुनसक्ने भएकाले आफूले दिन नसकेको उनले सुनाए ।

त्यस्ता ठाउँहरुमा सिलिण्डरको साटो ट्यांकरमा अक्सिजन सप्लाई गर्नु उपयुक्त हुन्छ । धेरै उद्योगहरुसँग ट्यांकरमा अक्सिजन भर्ने सिस्टम छैन किनकी माइनस १८०/१८४ डिग्री तापक्रममा अक्सिजन भर्न छुट्टै मेसिन चाहिन्छ । यो महंगो पर्ने भएकाले धेरैले लगानी गरेका छैनन् ।

तर सरकारले सिलिण्डरको जोहो गर्ने हो भने आवश्यकताअनुसार अक्सिजन भरेर पठाउन आफूहरु तयार रहेको व्यवसायीहरु बताउँछन् । साथै पछिल्लो समय घरघरमा अक्सिजन सिलिण्डर होल्ड हुन थालेकाले यसमा पनि सरकारले पनि ध्यान दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयसँग भएको छलफलमा यथेष्ट मात्रामा सिलिण्डरको उपलब्धता गराइदिन र सिलिण्डर होल्ड गर्ने कार्य रोक्ने संयन्त्र बनाउन आग्रह गरिएको अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष शारडाले बताए ।

उनका अनुसार अहिले सञ्चालनमा रहेका उद्योगहरूसँग झण्डै १० देखि १५ हजार प्रतिउद्योग सिलिण्डर छन् । सरकारले थप सिलिण्डर उपलब्ध गराए जति पनि अक्सिजन उपलब्ध गराउन सकिने अध्यक्ष शारडाले बताए ।

स्वास्थ्य मन्त्रालयले पनि अक्सिजन उत्पादनमा नभई वितरण प्रणालीमा समस्या रहेको स्वीकार गरेको छ । ‘अहिले पनि हामीसँग प्रशस्त मात्रामा अक्सिजन उत्पादन छ, तर काठमाडौंमा उत्पादन हुने अक्सिजन अन्यत्र पुर्याउन समस्या भएको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतम भन्छन्, ‘अक्सिजन उद्योग नभएका ठाउँमा हुने ठूलो माग धान्न कठिन भएकाले सरकारले थप सिलिण्डर किन्ने प्रक्रिया सुरु गरेको छ ।’

उनका अनुसार थुप्रै सरकारी अस्पतालहरूमा अक्सिजन उत्पादन प्लान्ट नै छ ।

– अनलाइन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय