मंगलबार , बैसाख ४, २०८१

विराटनगर

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटनामा पूर्वाञ्चल विश्वविद्यालय (पूवि) का कर्मचारीदेखि परीक्षार्थीसम्मको संलग्नता देखिएको छ। यसमा संलग्न विश्वविद्यालयका कर्मचारी र परीक्षार्थीसहित १० जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भएको छ।

पक्राउ पर्नेमा एक जना कर्मचारी, एक जना काठमाडौंमा अध्ययनरत विद्यार्थी र अरु परीक्षार्थी हुन्। गत वैशाख ३ गते सञ्चाल हुनुपर्ने विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र डीएसपी मञ्जिल मुकारुङ आफैँ घटनाको अनुसन्धानमा लागि परेका छन्। खड्काका अनुसार परीक्षार्थीसँग मोटो रकम लिएर प्रश्नपत्र ‘आउट’ गरिएको घटनामा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक कोमलप्रसाद गौतमले मुख्य भूमिका खेलेको देखिन्छ।

४४ वर्षीय गौतम विराटनगर महानगरपालिका–८ का बासिन्दा हुन्। व्यक्तिगत सम्पर्कमा आधारमा उनीसँग ‘सेटिङ’ मिलाउँदै परीक्षाको दुई दिनअगाडि नै प्रश्नपत्र बाहिर ल्याउन सफल भएपछि विचौलियाको भूमिकामा रहेका गोपाल कार्कीले अरु परीक्षार्थीसम्म पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको एसपी खड्काले बताए। संखुवासभाको मादी नगरपालिका–६ घर भएका ३५ वर्षीय कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत रहेको खुलेको छ।

गौतम र कार्कीसहित प्रहरीले रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट, गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त, गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ का २८ वर्षीय निर्मल खड्कालाई पक्राउ गरेको छ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाइन नगरपालिका–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण गाउँपालिका–५ घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव पक्राउ परेका छन्।

पक्राउ परेका सबै जनालाई प्रहरीले आइतबार दिउँसो विराटनगरमा सार्वजनिक गर्‍यो। उनीहरुविरुद्ध प्रहरीले शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। अभियोग पुष्टि भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ।

विश्वविद्यालयका कर्मचारी गौतम र महेश यादवलाई विराटनगरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए। उनका अनुसार अरु आठ जनालाई काठमाडौंबाट पक्राउ गरेर शनिबारराति विराटनगर ल्याइएको हो। यादवलाई भने वैशाख ८ गते नै विराटनगरबाट नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको मुकारुङले बताए।

गत वैशाख ३ गते परीक्षा हुनुभन्दा दुई घण्टाअगाडि प्रश्नपत्र बाहिरिएको पत्ता लागेको थियो। विश्वविद्यालयले उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको डीएसपी मुकारुङले बताए। उनका अनुसार तत्काल विश्वविद्यालयले अर्को प्रश्नपत्र तयार पारेर परीक्षा सञ्चालन गरेको पाइएको छ।

तयार भइसकेपछि फोटोकपि गर्ने क्रममा प्रश्नपत्र विश्वविद्यालयको फोटोकपि शाखाबाट बाहिरिएको खुलेपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको थियो। ८० हजार रुपैयाँ दिने सर्तमा विश्वविद्यालयका कर्मचारी गौतमबाट कार्कीले दुई दिनअघि नै सामाजिक सञ्जालको प्रयोग गरेर पश्नपत्र फुत्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसपछि कार्कीले ८० हजार रुपैयाँमा उक्त प्रश्नपत्र विजय पोखरेललाई बिक्री गरेको पाइएको एसपी खड्काले बताए।

उनका अनुसार पोखरेलले भट्टलाई र भट्टले पन्तलाई २०-२० हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ। पन्तबाट लिएर विकाश खड्काले निर्मल खड्कालाई १० हजार रुपैयाँ बेचेको उनले बताए। निर्मलबाट नानीपथ मण्डल हुँदै प्राप्त गरेका जीवनकुमार यादवले प्रश्नपत्र महेशलाई चार हजार रुपैयाँमा बिक्री गरेको पाइएको एसपी खड्काको भनाइ छ।

‘कर्मचारीदेखि विद्यार्थीसम्म पुग्दा मोलमोलाइ गरेर प्रश्नपत्र अलगअलग मूल्यमा किनबेच गरिएको पाइएको छ’, उनले भने, ‘यसमा विगतमा विषय लागेर बसेका र धेरै नम्बर ल्याउन खोज्ने विद्यार्थीहरुको संलग्नता रहेको देखिन्छ।’

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार दिउँसो १ बजेदेखि सञ्चालन हुनुपर्ने परीक्षाको प्रश्नपत्र बाहिरिएको कुरा बिहान ११ बजे मात्रै थाहा भएको थियो। उनका अनुसार तत्काल अर्को प्रश्नपत्र तयार पारेर परीक्षा भने सञ्चालन गरियो।

‘प्रहरीको अनुसन्धानबाट दुई दिनअघि नै बाहिरिएको पत्ता लाग्यो’, संग्रौलाले भने, ‘तर हामीलाई भने परीक्षा सञ्चालन हुनुभन्दा दुई घण्टाअघि मात्रै थाहा भएपछि ठूलै तनाव बेहोर्नु पर्‍यो।’

‘प्रश्नपत्र बाहिर ल्याउने कर्मचारीलाई प्रत्येक विद्यार्थीले मोटो रकम दिने सर्त रहेछ’, प्रहरी स्रोतले भन्यो, ‘कर्मचारीसँग ‘सेटिङ’ गर्दै प्रश्नपत्र बाहिर ल्याउन भूमिका खेल्ने नाइकेले भने अरु परीक्षार्थीहरुसँग कर्मचारीलाई दिनभन्दै पैसा उठाएको फेला परेको छ।’

पूर्वाञ्चल विश्वविद्यालयले लिने प्राविधिक विषयको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिल्यै शृङ्खलावद्ध रुपमा बाहिरिँदै आएको छ। यसलाई विश्वविद्यालयको बेथितिका रुपमा लिइएको छ। दुई वर्षअगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको घटनालाई अनुसन्धान नगरिकन ‘गुपचुप’ राखिएको स्रोतले बतायो।

घटनाको अनुसन्धानमा प्रश्नपत्र किनबेच सम्बन्धी प्रहरीले तयार पारेको विवरण।

स्रोतका अनुसार प्रश्नपत्र बाहिर पुर्‍याउने भूमिकामा विश्वविद्यालयको परीक्षा गोप्य शाखाका कर्मचारीको संलग्नता हुने गरेको छ। प्रश्नपत्र छाप्ने काममा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको पाइएको प्रहरीको भनाइ छ।

‘विश्वविद्यालयबाट परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिने घटना विगतमा पनि भएको हुनसक्छ’, एसपी खड्काले भने, ‘अहिले भने विराटनगरबाट बाहिरिएको प्रश्नपत्र काठमाडौं र विभिन्न स्थानबाट परीक्षा दिने तयारीमा रहेका परीक्षार्थीको हातमा पुगेको पाइयो।’ यसमा अरुको पनि संलग्नता हुनसक्ने बताउँदै उनले पुष्टि भए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अहिले इन्जिनियरिङ संकायको स्नातक चौथो, छैठौँ र आठौँ तहको फाइनल (अन्तिम) परीक्षा भइरहेको छ। चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. संग्रौलाले बताए।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय