काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ४ मा धरहराको ठुटोमा उभिएर ‘मेरो धरहरा म बनाउँछु’ अभियानको उद्घोष गर्नुभएको थियो । २०७२ को भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि २०७८ वैशाख ११ मा धरहरा ठडियो ।

प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको थियो, ओलीले नै उद्घाटन गर्नुभयो । त्यसबेला प्रधानमन्त्रीको भनाइ थियो– म भन्छु धरहरा हरेक नेपालीले बनाउनेछन् । एक–एक नेपालीले बनाउनेछन् ।’ र, भयो त्यस्तै, धरहरा बन्यो । सङ्कल्प पूरा भयो ।

फर्कियाे शान
धरहराको शीघ्र पुनर्निर्माण प्रधानमन्त्री ओलीको प्रतिबद्धता र दृढनिश्चयको एउटा मूर्त परिणाम हो । ‘हरेकको पसिना र मिहिनेतले धरहरा बन्छ’ भन्ने ओली विश्वास त्यसपछिका नौमहिने प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको कार्यकालमा लावारिस भयो ।

आखिर, विकासको निरन्तरता र क्रमभङ्गता पनि एउटा सोचद्वारा नै निर्देशित हुन्छ । सत्तागठन र विघटनको दुश्चक्रमा धरहराको पुनर्निर्माण उहाँहरूको प्राथमिकतामा परेन, काम गर्न सक्नुभएन । नयाँ संविधानपछिको पहिलो निर्वाचनद्वारा ओली दोस्रोपटक झन्डै दुईतिहाइको प्रधानमन्त्री बन्नुभयो, त्यो परित्यक्त परियोजनाले तीव्र गतिसहितको निरन्तरता पायो ।

अब हामीले भन्न पायौँ, ‘हामीले बनायौँ, हाम्रो धरहरा ।’ धरहरा नेपाली इतिहास हो भने नवनिर्मित धरहरा वर्तमानको गौरव हो । यो इतिहास र वर्तमानको विकसित सोचको मिश्रित कालीगढी हो ।

हरेक देशका पहिचानका केही निश्चित आधारस्तम्भ हुन्छन् । काठमाडौँको पहिचान धरहरा हो । त्यसैले धरहरा ढल्दा पहिचान ढल्यो, अब धरहरा उठ्यो, पहिचान पुनःस्थापित भयो । त्यसो त काठमाडौँ उपत्यका आफैँ पुरातात्त्विक सम्पदा र पहिचानको उपत्यका हो ।

तर, त्यसमा पनि काठमाडौँ सहरको मध्यभागमा रहेको धरहराको विशेष महत्त्व थियो र छ । प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईहरूलाई धरहरा बनेको सायद याद हुँदैन, त्यसैले ओली सरकारले गरेका हरेक पुनर्निर्माण उहाँहरूको प्रशंसाका लायक छैनन् ।

मेलम्चीको पानी काठमाडौँमा आयो, ढलेको धरहरा उठ्यो भनेर उहाँहरूले भन्नुभयो भने ओलीविरुद्धको उहाँहरूको एकलव्य राजनीतिको औचित्य स्थापित हुँदैन । हरेक विकासभित्रका साना कमजोरी खोजी तिनलाई ठूलो बनाई ओली सरकारको सत्तोसराप गर्नु नै उहाँहरूको अब पहिचान बनिसक्यो ।

यो उहाँहरूका लागि निकै पीडादायी क्षण हो । यो पीडितहरूको गठबन्धन होइन, सत्तारोहण गर्न नपाउने भइयो भन्ने सोचबाट उत्पत्ति भएको त्रासदीको गठबन्धन हो । ओली रहुन्जेल मौका छैन भन्ने उहाँहरूको ठहर हो किनकि ओलीका अगाडि आफूहरूको लोकप्रियताको नेप्से निकै तल झरेको अनुभूति उहाँहरूलाई छ सायद ।

यो एउटा पाटो भयो विकासको । यो नेपाली प्रतिबद्धता, लगानी र इन्जिनियरिङको मौलिक मोडेल हो, घरेलु सामथ्र्य हो । प्रधानमन्त्री ओलीको पहिलो र यो दोस्रो कार्यकालमा यस्ता नयाँ आरम्भ र इतिहासको सिलसिला नै चलेको छ ।

पार्टीभित्रका र बाहिरका, देशभित्र र बाहिरका केही शक्तिले ओलीलाई अजङ्गका रूपमा प्रस्तुत गर्न खोजे पनि ओली उनीहरूका लागि त्रासदीमात्र हुनुहुन्छ तर जनताका लागि विकास र समृद्धिका नायक । नभए पूर्वप्रधानमन्त्रीहरूले आफ्नो र ओलीको समय र कार्यकाल सम्झेर तुलना गरेर हेर्दा हुन्छ ।

राम स्थापित,पहिचान स्थापित
धार्मिक र साँस्कृतिक महत्त्वको अर्को विकासले पनि वैशाख ८ मा आकार लियो । त्यसका रणनीतिक आयाम पक्कै छन् तर त्योभन्दा बढ्ता त्यसले पूर्वीय सभ्यता, संस्कृति र इतिहासको वास्तविक खोजको सुरुवात गरेको छ ।

नेपाली पहिचान खोतल्न थालेको छ । प्रधानमन्त्री ओलीले वैशाख ७ मा बालुवाटारबाट पूजाआजा गरी पठाउनुभएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवन माडीको अयोध्यापुरीमा प्रतिस्थापन भयो ।

भगवान् रामको जन्मभूमि चितवनको अयोध्यापुरी हुन सक्ने धेरै आधार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई प्रमाणित गर्ने बताउनुभएको थियो । किनकि भारतको उत्तरप्रदेशको अयोध्यामा रामको जन्म भएको भन्ने दाबी चुनौतीरहित छैन ।

यद्यपि, हालसम्म सबैले अयोध्यालाई रामको जन्मभूमि मान्छन् । त्यसका बारेमा भारतमा ठूलै राजनीतिक युद्ध भएको छ । बल्ल बाबरी मस्जिद् र राम जन्मभूमिको टुङ््गो त्यहाँ अदालतले लगायो । त्यसो त मर्यादापुरुष राम सबैका साझा नै हुन् ।

धार्मिक र साँस्कृतिक महत्त्वलाई स्थापित गर्ने ओली सोचकै परिणामस्वरूप नेपाली चेली सीतासँगको रामको विवाहलाई पछ्याउँदै जाँदा परिस्थितिजन्य कारणले नेपालको अयोध्यापुरीतर्फ सङ्केत गरेका हुन् ।

प्रतिमा स्थापनापछि अयोध्यापुरीमा मूल मन्दिर निर्माण गर्ने गुरुयोजनासहितको कार्यक्रमको शिलान्यास प्रधानमन्त्रीले गर्दै हुनुहुन्छ, जसको तयारी पनि भइरहेको छ । यो रामसीताको मूर्ति स्थापनामात्र होइन, यो नेपाली तपोभूमिको इतिहासको खोजीको थालनी हो ।

यो कुनै खास धर्म, सम्प्रदाय र संस्कृतिप्रतिको लगाव र संरक्षणको विषय होइन, यो नेपाली पहिचानको एउटा पाटो हो, जसको संरक्षण र विकास गर्नु देशका हरेक नागरिकको कर्तव्य हुन्छ ।

यो नेपाली सभ्यता, आफ्नोपनको खोजी हो । अहिलेको विश्वको एउटा प्रवृत्ति के छ भने सबै देशले आफ्नोपनको खोजी गरिरहेका छन् । ‘मेरो इतिहास, मेरो धर्म संस्कृति, सम्प्रदाय, मेरो पहिचान’ यसतर्फ सारा विश्व लागेको छ । यो देशभित्रको खण्डित पहिचानको खोजी होइन, देशकै समग्र पहिचानको खोजी हो । यो अलगावको राजनीति होइन, खासमा अनेकताबीच एकताको राजनीतिको खोजी हो ।

आन्तरिक राजनीति, त्यसमा पनि पार्टीभित्रको प्रतिकूल राजनीतिका बाबजुद यी दुई विकासका मानक हुन्, जसले प्रधानमन्त्री ओली र उहाँले नेतृत्व गरेको सरकारको अर्जुनदृष्टि देखिन्छ । पार्टीभित्रका मुद्दा विशिष्टखालका थिए भने नेताले तिनलाई पहिला व्यवस्थापन गर्नुपथ्र्यो तर ती निहित स्वार्थ र सत्ताका भागबन्डाका मुद्दा थिए, त्यसैले ओलीले तिनलाई त्यति महत्त्व दिनुभएन ।

यता अल्मलिएको भए मेलम्चीको पानी काठमाडौँ आइपुग्थ्यो वा रामसीता अयोध्यापुरीमा पुगिसक्थे वा सक्थेनन्, भन्न सकिँदैनथ्यो । धरहराको पुनःस्थापनालाई पनि नकारात्मक रूपले प्रचार गरी त्यो ठडिएको धरहराले के दिन्छ ?

टावर बनाएर हुन्छ ? जनताले के पाए ? जस्ता विषय जान्नेसुन्नेहरूबाटै उठाइनुचाहिँ उदेकलाग्दो छ । उनीहरूको भनाइमा ढलेको धरहरा बनाउनुहुँदैनथ्यो, भूकम्पले भत्काएका जनताका घर पनि बनाउनुहुँदैनथ्यो र भूकल्पले ध्वस्त पारेका संरचनालाई त्यही खण्डहरकै रूपमा छोडिदिनुपथ्र्यो ।

एउटा सचेत नागरिकको विवेकले यस्तो नकारात्मकता कसरी पाल्छ ? सचेत नागरिकभित्र राजनीति यस्तोगरी छि¥यो कि विवेक नै बन्दी बन्यो । भूकम्पको क्षति देखाउनुपर्छ भन्ने हो भने खण्डहर धरहरा त्यहाँ संरक्षित नै छ ।

रामसीताको प्रसङ्गमा अलि अगाडिको विषय उल्लेख गर्नु सान्दर्भिक हुन्छ । देशको कार्यकारी प्रमुखका रूपमा होस् वा कम्युनिस्ट पार्टीको अध्यक्षका रूपमा वा एउटा नागरिकका रूपमा होस्, प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरको दर्शन गर्नु उचित थियो ।

तर, त्यसलाई एउटा जडसूत्रवादी सोचको त्यान्द्रो समातेर कम्युनिस्ट प्रधानमन्त्री पशुपतिको मन्दिरमा भन्दै व्याख्या भयो । जब कि प्रधानमन्त्रीको पशुपति यात्राबाट नेपाली नागरिकको अधिक बहुमत पुलकित भएको तिनले महसुस गर्न सकेनन् । नेपाल यस्तो देश हो, जहाँ हिन्दुले नवाज पनि पाठ गर्छन् भने मुस्लिम भागवत गीता पनि वाचन गर्छन् ।

यो धार्मिक सहकार्य र सहिष्णुता हाम्रो पहिचान हो । प्रधानमन्त्री ओलीले पशुपति मन्दिरको भ्रमणमाथि प्रश्न गर्नेहरूले अयोध्यापुरीमा रामसीताको प्रतिमा स्थापनाको विरोध गरेका छन् । राज्यको कुनै धर्म हुँदैन, ठीक हो । तर, राज्यका हरेक नागरिकलाई उनीहरूको धर्म मान्ने, संरक्षण गर्ने अधिकार हुन्छ ।

त्यसैले प्रधानमन्त्रीले पशुपतिको भ्रमण गर्दा हिन्दु धर्मको मात्र संरक्षण र प्रवद्र्धन गर्नुभएको होइन, उहाँले नेपालको एउटा अर्को पहिचानको प्रवद्र्धन र संरक्षण गर्नुभएको हो । हिन्दुहरूको आस्थाको भ्रमण गर्नु अन्य धर्मका आस्था र विश्वासमाथिको अनास्था होइन । बौद्धमार्गीहरूको पवित्र स्थल लुम्बिनीको विकासलाई बौद्ध धर्मको प्रचार–प्रसारका रूपमा मात्र बुझ्न मिल्छ ?

त्यो नेपालको प्रवद्र्धन हो । विश्वभरका शान्तिको खोजीमा रहेका नागरिककै पवित्र स्थलका रूपमा लुम्बिनी छ । नेपालले यो क्षेत्रलाई शान्तिको अन्तर्राष्ट्रिय केन्द्र बनाउन खोजेको छ ।

रामसीतालाई अयोध्यापुरीमा स्थापना गर्नुका केही ऐतिहासिक आधार छन् भने त्यसले नेपालको विकास र विगतको संरक्षण गरेको छ । आदिकवि भानुभक्त आचार्यलाई स्मरण गरिरहँदा प्रधानमन्त्रीले रामायणका रचयिता र त्यसमा वर्णित रामसीताको भूगोल खण्डलाई हेर्दा राम नेपालको अयोध्यापुरीमा जन्मेको हुनुपर्छ भन्नुभएको थियो । र, त्यसलाई खोजेर अघि बढाउने जनाउनुभएको थियो । र भयो पनि त्यस्तै ।

अब अयोध्यापुरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुनेछ, यसमा औडाहा गरेर हुँदैन, कुण्ठा पालेर पनि हुँदैन । जस लिन मन लागेको भए एमालेका अध्यक्ष प्रधानमन्त्री भएको सरकारले गरेको वा नेकपामा प्रथम अध्यक्षले नेतृत्व गरेको सरकारले विकास गरेको हो भन्दा हुन्छ ।

– गोर्खापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय