शनिबार , बैसाख ८, २०८१

डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्।

टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे।

कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।

हिँड्दा हिँड्दा मेरा खट्टा थागिगा: भिडिओमा उनले भनेकी थिइन्।

ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन्। बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन्।

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्।

आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्।

डोटेली भाषाप्रति गर्व

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाकी मिस पबी बोल्दा अनि सुन्दा ‘निकै मिठो’ लाग्ने डोटेली भाषामा समसामयिक विषयहरू समेटेर टिकटक बनाउँछिन् ।

उनले आफ्ना साथीभाइहरूबाट टिकटकबारे थाहा पाएकी थिइन्। एक वर्ष अघिसम्म उनको टिकटक अकाउन्ट थिएन। अरूकै टिकटक हेरेर रमाउने गर्थिन्।

‘’सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,’’ मिस पबीले भनिन्। ‘’मलाई मेरै भाषाले चिनायो। त्यसैले डोटेली भाषाप्रति गर्व छ।‘’

सुदूरपश्चिमवासीहरू पनि उनले कमाएको ख्यातिप्रति खुसी रहेको आफूले अनुभूति गरेको उनको भनाइ छ।

विगतमा आफ्नो भाषा बोल्न लाज मान्नेहरूले हाल गर्व लाग्ने आफूलाई भन्ने गरेको उनी बताउँछिन्। नेपालको सुदूरपश्चिममा बोलिने भाषा सुन्दा सुरुसुरुमा के यो नेपालकै भाषा हो भनेर समेत प्रश्न गर्ने गरेको अनुभव मिस पबीको छ।

उक्त क्षेत्रका एक जना अग्रज पत्रकार डीआर पन्त ठाउँ अनुसार डोटेली भाषाको लवज फरक भए पनि शब्द र त्यसको अर्थ भने एउटै हुने बताउँछन्। ‘’आफ्नै भाषामा धेरैले टिकटक बनाए पनि युवापुस्ताकी ‘ग्ल्यामर’ भएकाले मिस पबीलाई धेरैले मन पराएको पाइन्छ,’’ उनले भने।

पछिल्लो ११ महिनामा मिस पबीको जीवनमा थुप्रै परिवर्तन भएका छन्।

सुरुवाती चरणमा घाँस दाउरा काटेको, पशु चौपाया हेरेको अनि मल फालेको भिडिओहरू पोस्ट गर्ने उनी हाल नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओहरूबाट प्रशंसा बटुल्दैछिन्।

म्युजिक भिडियोमा अभिनयको अवसर

मिस पबीको दिनचर्या अहिले निकै फेरिएको छ। म्युजिक भिडिओहरूमा अभिनयको प्रस्ताव उनका लागि नयाँ कुरा रहेनन्।

हालसम्म आफूले १५-१६ वटा म्युजिक भिडिओमा अभिनय गरिसकेको उनी बताउँछिन्। धारावाहिक शृङ्खलामा अभिनय गर्न थालेपछि टिकटक प्रयोगकर्ताबाहेक अरूले पनि चिन्न थालेको उनकी बताउँछिन्।

विभिन्न ठाउँमा हुने कार्यक्रममा जान भ्याइ नभ्याइ हुने अवस्थामा उनी छिन्। आफूलाई रुचाउने सर्वसाधारणले सेल्फी अनि फोटो लिन इच्छा गर्दा कहिलेकाहीँ सास्ती खेप्नुपर्ने उनी सुनाउँछिन्।

डडेलधुरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २३ वर्षकी मिस पबीलाई यो ठाउँसम्म आइपुग्न दर्शकका साथै घर परिवारको पनि उत्तिकै साथ देखिन्छ ।

उनको घरमा आमा, भाइ र बहिनी छन्। बुबा सेफको रूपमा अस्ट्रेलियामा कार्यरत छन् भने आमा घरायसी काम गर्छिन्।

भारतको मुम्बईमा लामो समय काम गरेर उनका बुवा तीन महिनाअघि अस्ट्रेलिया पुगेका थिए।

आफ्नै गाउँ ठाउँलाई चिनाउने सोच
टिकटकबाट निकै ख्याति कमाएको भए पनि त्यसबाट पैसा कमाउन भने नसकेको मिस पबीको भनाइ छ।

म्युजिक भिडियोबाट हुने आम्दानीले उनको दैनिक चलिरहेको छ।

आफूले कमाएको ख्यातिलाई सक्दो सदुपयोग गर्ने उनको सोच छ। आफ्नै यूट्यूब च्यानल अनि ब्लगमार्फत् डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्द्धन गर्ने योजना उनले बताएकी छन्।

चुनावमा सागर ढकाललाई सहयोग

गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा मिस पबीले स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा टिकटकमार्फत् भोट माग्दा कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गर्ने भन्दै असन्तुष्टि पोखेका थिए।

निर्वाचनभन्दा केही अघिसम्म खासै चर्चामा नरहेका ढकालले कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए।

चुनावमा देउवाले २५ हजार मत ल्याएर विजयी भए। निर्वाचन भन्दा तीन महिना अघि मात्रै डडेलधुरा पुगेर चुनावमा होमिएका ढकालले १३ हजार भन्दा केही बढी मत ल्याएका थिए।

डडेलधुरामा देउवा विरुद्ध ढकालले त्यति भोट ल्याउनुमा मिस पबीको पनि महत्त्वपूर्ण भूमिका रहेको ठान्नेहरूको सङ्ख्या निकै छ।

युवाको नाताले ढकालको पक्षमा मत माग्दा आफ्नै क्षेत्रका देउवाले केही नभनेको उनी बताउँछिन्।

भारतमाथि अस्ट्रेलिया १० विकेटले विजयी

विसाखापटनम — अस्ट्रेलियाले दोस्रो ‘डे नाइट वान डे’मा आइतबार भारतलाई सजिलै १० विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारत १ सय १७ रनमा अलआउट भएपछि पाहुना टिमको एकपक्षीय जित सम्भव भएको हो ।

भारतका लागि विराट कोहलीले बनाएको ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै अक्षर पटेलले पनि २९ रन बनाए । भारतका चार ब्याटर शून्यमै आउट भएका थिए । अस्ट्रेलियाका लागि माइकल स्टार्कले ५३ रनमा पाँच विकेट लिए ।

उनी नै ‘प्लेयर अफ द म्याच’ भए । जवाफमा अस्ट्रेलियाले ११ ओभर मात्र उपयोग गरेर बिना कुनै विकेटको क्षति १ सय २१ रन बनायो । त्यसमा ट्रेभिस हेडले ५१ र मिचेल मार्सले ६६ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय