बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ

कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्ताव सामना गर्ने रणनीतिबारे छलफल गरे । यता करिब एक महिनाअघिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षमा पुगेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठक बस्यो ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको छ ।

‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले स्थितिको समीक्षा गरिरहेका छौं ।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी माओवादीसँग मिलेर एमालेकै नेता नेपाललगायतका सांसदले फ्लोर क्रस गर्ने योजना बनाइरहेको सूचना बालुवाटारमा निरन्तर रूपमा पुगिरहेको छ ।

नेपाल, झलनाथ खनाललगायतका नेताले कांग्रेस र माओवादी नेताहरूसँग निरन्तर रूपमा छलफल गरिरहेका छन् । कांग्रेस आँट गरेर अघि बढ्ने हो भने आफूहरू फ्लोर क्रस गरेर पनि साथ दिन तयार रहेको सन्देश उनीहरूले दिइरहेका छन् ।

खनाल–नेपाल समूहले दिएको ढाडसबारे थाहा पाएपछि सकेसम्म अविश्वास प्रस्ताव आउनुअगावै ओलीले फ्लोर क्रस गर्न सक्ने सांसदलाई हटाउने योजना बनाएका छन् ।

हटाउने प्रयोजनकै लागि ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधिसकेका छन् । स्पष्टीकरण सोधिएका सांसदले जवाफसमेत दिइसकेका छन् । त्यसमाथि एमालेले विश्लेषण गरिरहेको छ ।

ओली समूहले पार्टीमा थप हानि पुग्ने खालको गतिविधि गरे जुनसुकै बेला सांसदलाई कारबाही गर्न सक्ने गरी विधानसमेत संशोधन गरिसकेकाले आफूलाई अप्ठ्यारो पर्ने अवस्था आउनासाथ विरोधी समूहका सांसदलाई हटाउने योजनामा छन् । आइतबारको बैठकमा ओलीले उपयुक्त समयमा पार्टीले निर्णय लिने बताए ।

यस्तो निर्णय लिने अधिकार महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई दिएको छ । उक्त जिम्मेवारीअनुसार ओलीले चाहेका बेलामा निर्णय गर्न सक्नेछन् । प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठकमा भने अविश्वास प्रस्ताव ल्याउनका लागि संख्या यकिन नभएको विश्लेषण भएको थियो ।

जसपाको एउटा समूह ओलीसँग निकट भएर वार्ता गरिरहेकाले अविश्वास प्रस्ताव पारित गर्न आवश्यक पर्ने संख्या सुनिश्चित नभएको नेताहरूले निष्कर्ष निकालेका थिए ।

एमालेको एउटा समूहले फ्लोर क्रस गर्ने सम्भावना भए पनि त्यसअगावै ओलीले सांसद निकालेको खण्डमा उनीहरूको पदको विवाद हुने र त्यो विवादको विषय अदालतसम्म पुग्न सक्ने भएकाले संख्याको सुनिश्चिततापछि मात्र अविश्वास प्रस्ताव अघि बढाउनुपर्ने कांग्रेस नेताहरूको धारणा थियो ।

पदाधिकारी बैठकपछि उपसभापति विमेलन्द्र निधिले संख्या नपुगेकाले आफूहरूले अविश्वास प्रस्ताव अघि बढाउन नसकेको बताए । ‘अविश्वास प्रस्ताव ल्याउन पहल गरेका हौं तर अझै संख्या यकिन भइसकेको छैन,’ उनले भने, ‘आफूले खनेको खाल्डोमा आफैं पर्न सकिन्छ ।

संख्या नपुग्दासम्म अघि सर्दैनौं ।’ एक पटक अविश्वास प्रस्ताव राखेर फेल भयो भने फेरि एक वर्षसम्म यस्तो प्रस्ताव ल्याउन पाइँदैन ।

माधव नेपाल समूहले फ्लोर क्रस गर्दा पनि जसपाका कति सांसद आफ्नो पक्षमा हुने हुन् भन्ने कांग्रेसलाई यकिन छैन । जसपाको बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरू ओलीको विकल्प खोज्न तयार छन् तर महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट भएर आफ्नो पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता गराउने अभियानमा छन् ।

उनीहरूको योजनाअनुसार ओली सरकारले धेरैको मुद्दा फिर्ता लिने प्रक्रियासमेत अघि बढाइसकेको छ । त्यसैले ओली सरकारको विकल्पमा बन्ने सरकारमा जोडिइहाल्न ठाकुर र महतोले चाहेका छैनन् । जसपाभित्रै दुई धार रहेकाले एउटा पक्षको मात्र समर्थन हुँदा अघि सरिहाल्न कांग्रेसलाई जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय