शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्नेको भीड । भीड कम गर्न भनिए पनि पालो छिटो पाउनुपर्ने भन्दै तँछाडमछाड भइरहेको हन्छ । तस्बिर: मधु शाही/कान्तिपुर
मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकै दिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ उनले भने, ‘बढ्दो मृत्युदरले बिरामीले अस्पतालमा राम्रो स्याहार पाउन नसकिरहेको अवस्थासमेत छर्लङ्ग भएको छ ।’

विज्ञहरूले दिनहुँ थपिइरहेका कोरोना संक्रमितको वास्तविक अवस्था अज्ञात रहेको औंल्याएका छन् । उनीहरूका अनुसार परीक्षण प्रक्रियामा नआएका संक्रमितको संख्या उल्लेख्य छ । संक्रमण पुष्टि नभएका कोभिड बिरामीको मृत्यु झन् बढी हुने उनीहरूको अनुमान छ । पछिल्लो साता देखिएका संक्रमितमध्ये विदेश जान पीसीआर परीक्षण गराउने धेरै रहेको उल्लेख गर्दै डा. बीसीले भने, ‘हामीले विदेश जानेको संख्या घटायौं भने परीक्षण गराउनेमध्ये करिब आधाजतिमा संक्रमण देखिएको अवस्था छ ।’

पछिल्लो समय जटिल स्वास्थ्य स्थिति नहुँदासम्म परीक्षण गराउन नआउने, कन्ट्याक्ट ट्रेसिङ नहुने, स्वास्थ्य मापदण्ड पालनामा हेलचक्य्राइँ गर्नेलगायत कारणले करिब ५० प्रतिशतजति संक्रमण देखिएको डा. बीसीको भनाइ छ ।

‘संक्रमण तीव्र रूपमा भुसको आगोझैं फैलिरहेको छ, त्यसमा पनि नयाँ स्वरूपको भाइरसले गर्दा अवस्था धेरै जटिल हुने सम्भावना छ,’ उनले भने । संक्रमण बढ्दै गएकाले एक सयभन्दा बढी संक्रमित भएको जिल्लाको संख्या २५ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । एक साताको तथ्यांकलाई केलाउँदा करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुने दुःखद अवस्था देखिएको जनाउँदै उनले भने, ‘यसपटक संक्रमण तीव्र गतिमा विस्तार भइरहेको देखिएको छ । युवा र बालबालिकासमेत संक्रमित हुने, जटिलतातर्फ जाने र गत वर्षको दाँजोमा धेरै बढीलाई अस्पताल भर्ना गर्नुपर्ने एवं सघन उपचार चाहिने अवस्था छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले सरकारले तुरुन्तै कठोर निर्णय लिएर ‘स्वास्थ्य आपत्काल’ घोषणा गरी स्वास्थ्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘संक्रमणको कडी तोड्न हटस्पटहरूमा दुई सातासम्म कडाइ गर्नुको विकल्प छैन,’ उनले भने ।

संक्रमण वृद्धि २४१ प्रतिशत

धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा.विराज कर्माचार्यका अनुसार गत साताको दाँजोमा नेपालमा कोभिड संक्रमण २४१ प्रतिशतले बढेको छ । भारतमा यो दर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत छ । अझ विश्वमा गएको साताभन्दा १० प्रतिशतले वृद्धि देखिँदा नेपालमा २४१ प्रतिशतले देखिएको हो ।

२४ घण्टामा २८ जनाको मृत्यु

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्‍न जिल्लामा १६ जनाको मृत्यु भएको र सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जना संक्रमित भएका छन् । संक्रमतिको कुल संख्या ३ लाख १ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १ सय ३२ सहित उपत्यकामा १ हजार ४ सय ९८ जना संक्रमित थपिएका छन् । यस्तै २४ घण्टामा ४ सय ५० निको भई डिस्चार्ज भएका छन् ।

सावधानी नअपनाए भयावह : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण यही दरमा बढ्दै गए सीमित साधन–स्रोत भएको देशले थेग्न नसक्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै मिलेर मात्र कोरोनालाई परास्त गर्न सकिने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले सावधानी नअपनाए स्थिति भयावह हुने बताए ।

मन्त्रालयले देशका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितको उपचार तथा हेरचाहमा समस्या आउन थालिसकेकाले संक्रमण रोकथाम गर्न सक्ने भूमिका सबैले निर्वाह नगरे समस्या झन् भयावह हुने जनाएको छ । ‘आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीहरूले दिनहुँ देखिरहेका छन्, त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ, संक्रमण रोकथामका लागि सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन्,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

– कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय