मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ ।

सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको छ ।

संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ ।

ओली र नेपालबीचको आआफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ । ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ । ‘एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भने ।

दुई धु्रवमा विभाजित नेताहरूबीच दुईपटक भेटघाट भयो । ओली र नेपालबीच भएको भेटघाटले पार्टीभित्रको विवाद समाधान हुने विश्वास आम नेता–कार्यकर्ताको थियो । तर, दुवै नेता आआफ्नै अडानमै रहेकाले पार्टी फुट्ने चिन्ता बढ्दै गएको हो ।

झन्डै पाँच महिनादेखिको छलफलहीन स्थिति तोड्दै ओली र नेपालबीच छलफल भएको थियो । नागपोखरिस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तात्यो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेता एक्कासि संवादमा जुट्दा एमाले पंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न सकेन ।

एमाले नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षले सबैलाई मिलाएर अगाडि बढ्न खोजेको बताए । तर, केही नेताको गुटगत माग र व्यवहारले पार्टीलाई विभाजन गर्ने दिशामा अगाडि बढाएको उनले बताए ।

‘सबैलाई मिलाएर अगाडि बढ्ने विषयमा पार्टी अध्यक्षले सबैसँग छलफल गर्दै अगाडि बढनुभएको छ,’ थापाले भने, ‘केही नेताले आफ्नो गुटगत मागमै अडिग भएपछि त्यो सम्भव छैन । हामी सबै मिलेर एमालेलाई बलियो बनाऔं, मिलेरै अगाडि बढौं भन्ने चाहना अध्यक्ष कमरेडको रहेको छ । पार्टीमा अब गुटगत भागबण्डा चल्दैन ।’

सकारात्मक सोचका साथ निलम्बनमा परेका नेताहरूसँग पार्टी अध्यक्षले छलफलसमेत गरेको बताउँदै उनले पार्टीले अब फेरि पनि गुटको माग सम्बोधन गर्न सम्भव नै नभएको बताए । एमाले धेरै अगाडि बढिसकेको बताउँदै थापाले पछाडि फर्किने अवस्था नै नरहेको स्पष्ट पारे ।

एमाले नेता जगन्नाथ खतिवडाले पार्टीभित्र लोकतन्त्र र विधिको शासन सम्पूर्ण रूपमा समाप्त हुँदै गइरहेको आरोप लगाए । ‘एमाले फुटिसकेको छैन । तर, पार्टीको नेतृत्वले एमालेको ठूलो कार्यकर्ताको हिस्सालाई अलग बाटो निर्माण गर्ने दिशातिर धकेल्दै छ,’ उनले भने ।

पार्टी अध्यक्षले आफूलाई नसच्याए उनले ठूलो नोक्सानी बेहोर्नुपर्ने बताउँदै खतिवडाले समयमै आफ्ना कमीकमजोरी सच्याउन पार्टी अध्यक्षलाई सुझाव दिए ।

पार्टी अध्यक्ष ओलीले नेता नेपालसँग मात्र नभई ९औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष वामदेव गौतमलाई समेत भेटेका छन् । भेटमा ओलीले पार्टीमा फर्किन गरेको आग्रह गौतमले अस्वीकार गर्दै २ जेठ २०७५ कै अवस्थाबाट पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिए ।

ओलीले एमालेको ९औं महाधिवेशनबाट निर्वाचित नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएपछि एमालेभित्रको विवाद झन् बढ्दै गइरहेको छ । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताका साथै ओलीले आफू निकटका नेतालाई शुक्रबारको महाधिवेशन आयोजक कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँड गरेका छन् ।

त्यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेतालाई ओलीले केन्द्रीय कमिटीमा नियुक्त गरेपछि नेता नेपालले आपत्ति जनाउँदै आएका छन् ।

यसैबीच एमालेको भातृ संगठन अनेमसंघले संगठनलाई समावेशी बनाउन माग गरेको छ । अनेमसंघ सचिव सुजिता शाक्यले स्थायी कमिटीदेखि सबै संगठनलाई समावेशी बनाउन माग गरेकी छन्् ।

शुक्रबार बसेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा लिखित सुझाव पेस गर्दै उनले तीनै तहको निर्वाचनमा उम्मेदवारी चयनलाई पनि समावेशी बनाउन माग गरेकी छन् । उनले विविध विषय समेटेर पार्टीलाई आठ बुँदे सुझाव पेस गरेकी छन् ।

प्रस्तावमा स्थायी कमिटीमा महिलाको प्रतिनिधित्व गराउने कुरामा ध्यान दिन आग्रह गरिएको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा महिला सदस्य ३३ प्रतिशत पु¥याउनुपर्ने कुरा पनि सुझावमा उल्लेख गरिएको छ । अनेमसंघले तीनै तहको निर्वाचनमा महिला उम्मेदवार संख्या ३३ प्रतिशत पु¥याउनसमेत माग गरेको छ ।

एमालेले शुक्रबार गठन गरेको स्थायी कमिटीमा सबै पुरुष मात्रै भएपछि उनले आपत्ति जनाउँदै महिलालाई समावेश गर्न माग गरेकी हुन् ।

– राजधानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय