शुक्रबार , बैसाख ७, २०८१

नयाँदिल्ली —

भारतमा कोरोना संक्रमणको ‘सुनामी’ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको लगातार चौथो दिन हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७४ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ४८ जनाको मृत्यु भएको छ । दिल्लीमा गएको संक्रमण विस्फोटक ढंगले बढ्न क्रमसँगै अक्सिजन र बेडको नपाएर संंक्रमितहरुको बिचल्ली भएको छ । रेम्डेसिभिरलगायत औषधिको चरम अभाव देखिएको छ । पछिल्ला दिनमा संक्रमित हुने र निको हुने संख्याबीचको फरक पनि बढ्दै गएको छ ।

भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त ‘सुनामी’ को संज्ञा दिएको छ । अदालतले जेठको पहिलो साता (मे मध्यमा) महामारी उच्च बिन्दुमा भन्दै त्यसका लागि के–कस्तो प्रबन्ध गरिएको छ भनेर सरकारलाई प्रश्न पनि सोधेको छ । ‘मे महिनाको मध्यमा महामारी उच्च बिन्दुमा पुग्दै छ । यो वास्तवमा सुनामी हो । हामीहरुले कसरी क्षमता बढाउँदै छौं ? त्यो परिस्थितिका लागि अहिलेको मितिमा कसरी तयारी गरिरहेका छौं ?’ अदालतले भनेको छ ।

इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी, कानपुरले गरेको प्रक्षेपणमा जेठ पहिलो साता महामारीको दोस्रो लहर उच्च बिन्दुमा पुग्ने देखाएको छ । प्राध्यापक मनिन्द्र अग्रवालको टोलीले अमेरिका, इटाली र भारतको महामारीसम्बन्धी हालसम्म उपलब्ध तथ्याकंमा आधारित भएर उक्त प्रक्षेपण गरेको हो ।

पछिल्लो लहर सुरु भएसँगै दिल्लीलगायत महाराष्ट्र, उत्तरप्रदेश, केरला, कर्नाटक, गुजरात राज्यमा संक्रमण भयावह बनेको छ । पछिल्लो एक दिनमा उत्तरप्रदेशमा २२ हजार ५ सय ६६ र छत्तीसगढमा १५ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा शनिबारसम्ममा १४ करोड ९ लाख १६ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरी देखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।  – कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय