
काठमाडौँ — कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन ।
नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो । पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ ।
वैशाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन । वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।
बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन ।
गृह मन्त्रालयले पनि जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई यसअघिकै आदेश पालनामा कडाइ गर्नेबाहेक महामारीविरुद्ध थप सक्रियता देखाएको छैन । संक्रमण विस्तार हुन थालेपछि जनस्तरबाटै लकडाउन र सीमानाका सिल गर्नुपर्ने विषय उठेका छन् । सरकार तत्कालै लकडाउन गर्ने पक्षमा देखिएको छैन । जनस्वास्थ्यविद् डा. शरद वन्तले विदेशबाट संक्रमण भित्रिन नदिन सीमानाकामै पर्याप्त परीक्षण गरी संक्रमित देखिए आइसोलेसनमा पठाउनुपर्ने सुझाव दिए । आयातित संक्रमण रोक्न सरकारले हवाई र स्थल सीमानाकामा कडाइ गर्नैपर्ने उनको भनाइ छ ।