
आज १५ औं लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/०६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा स्मरण गर्ने गरिन्छ ।
सशस्त्र युद्ध गरिरहेको माओवादी र राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले आजकै दिन राजतन्त्रको अन्त्य गरेको थियो । यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको नेपाली राजनीतिमा विशेष महत्व रहेको छ ।
नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए ।
२०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित र्गयो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गर्यो ।
लोकतन्त्र स्थापनाको १५ वर्षमा संविधानको निर्माण, गणतन्त्रको घोषणा, संघीय, समावेशी र समानुपतिकको व्यवस्था भएका छन् । परिवर्तन संस्थागत भएपनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन नसक्दा जनताले परिवर्तन महशुष गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।