बुधबार , बैसाख १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने भन्दै घरघरमा दिपावली गर्न सुझाव दिएका छन्।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण भएर बलियो भएको भन्दै यो एउटा खुसी र हर्सोल्लासको समय भएकाले जनताहरूलाई दिपावली गरेर खुसी साट्न सुजाएका हुन्।

अहिलेको नयाँ धरहरा निर्माणमा सबै सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरिएको हुनाले अब धरहरा कहिल्यै नढल्ने प्रधानमन्त्री ओलीले ठोकुवा गरे । उनले नयाँ धरहरा निर्माणसँगै धरहरा भत्कँदा भएको सबै क्षतिको परिपूर्ति गर्ने बाटोमा सरकार लागेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन्।

अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए ।

धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशभित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैयाँ यसमा सहयोग परेको छ । त्यसैले जनताका थुप्रै भावनाहरु यसमा मिसिएका छन् । यो हाम्रो भावनासँग जोडिएको छ, हाम्रो गौरवसँग जोडिएको छ ।’

पुनर्निर्मित धरहरा ८६.८५ मिटर अग्लो बनेको छ । पुनर्निर्मित धरहरा पहिलेको भन्दा करिब २५ मिटर अग्लो र मजबुत बनेको छ । धरहरा बनाउनका लागि प्रयोग भएका सबै सामग्री बलियो र टिकाउ रहेको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले देखे, राति पनि यसलाई लिप्ने, पोत्ने, बढार्ने कामहरु भइरहेका छन् । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

‘हामीले बनाउने हो देश र हामी बनाउन सक्छौं । हामी सहयोगापेक्षी भएर बस्ने होइन, हामी कर्मठ भएर बस्ने हो,’ पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जाति भिखमंगा हुन सक्दैन । दान गर्ने दाता जाति हो, भिखमंगा होइन । त्यसकारण देशलाई दाताको हैसियतमा उठाउन हामीले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने परिवारका एक जनालाई रोजगारी दिने बताएका छन्। उनले भूकम्पले भत्काएको धरहरामा ज्यान गुमाउने परिवारका एक जना सदस्यलाई यही धरहरामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए।

‘धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, प्रधानमन्त्री ओलीले भने,‘यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाडौंकी रमिला श्रेष्ठलाई सम्मान गरिएको हो ।

२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।

धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय