मंगलबार , बैसाख ११, २०८१

काठमाडौं, ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रहरुमाथि एकपछि अर्को प्रहार हुन थालेको छ । पछिल्लो पटक प्रदेशहरुमा नेकपा एमालेबाट मुख्यमन्त्री रहेकाहरुमाथि प्रहार हुन थालेको छ । उनीहरुको सत्ता ढाल्न समिकरण बनाएर कदमहरु चालिन थालेका छन् ।

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

तीन दलका सांसद एकजुट भएमा अविश्वासको प्रस्ताव पारित हुन सक्छ । लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री प्रस्तावित गरिएका छन् ।

गत हप्ता गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लाग्दा संसद अधिवेशन अन्त्य गरिएको थियो । गण्डकीमा विशेष अधिवेशन डाकिएको छ ।

त्यहाँ पनि काँग्रेस र माओवादीको गठबन्धन बनेको छ । राष्ट्रिय जनमोर्चा पनि ओलीविरुद्ध देखिइसकेको छ । काँग्रेस, माओवादी र जनमोर्चा एकजुट भएमा गुरुङ्ग मुख्यमन्त्रीबाट हट्ने अवस्था बन्ने निश्चित छ ।

प्रदेश १ मा पनि चालु अधिवेशन अन्त्य गरिएको छ । त्यहाँ पनि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भित्री तयारी चलेको छ ।

प्रदेश १ मा नेकपा एमालेको एक्लैको बहुमत छ । तर, त्यहाँ फ्लोर क्रस हुने सम्भावना छ । माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेर भएपनि राईलाई हटाउने तयारी गरेको बुझिएको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि धरापमा परेको छ ।

ओलीनिकट पौडेलविरुद्ध अविश्वासको प्रस्तावको भित्री तयारी भइरहेको छ । बागमतीमा एमाले एक्लैको बहुमत छ । तर, माधवकुमार नेपाल पक्षधरले फ्लोर क्रस गरेमा अविश्वासको प्रस्ताव पारित हुन सक्छ ।

बागमतीमा काँग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षधर मिलेमा पौडेल नेतृत्वको सरकार ढल्न सक्छ ।

कर्णाली हुँदै ओलीविरोधी दलका अलावा माधव नेपाल समूहको आन्तरिक समिकरण अन्य प्रदेशमा समेत देखिदै गएको छ । ओली निकट मुख्यमन्त्रीहरुको पद यसकारण पनि धरापमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय