Nepalirajneeti
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराध गरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभामा नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कँडेलले ती सांसदप्रति आक्रोश पोखेका हुन् ।
नेता कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने आफूले नसोचेको बताए । ‘पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गर्नुभएको छ, यो गलत हर्कत हो, यो राजनीतिक अपराध हो’, कँडेलले भने, ‘अब हामी विधानअनुसार नै चल्नेछौँ ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभामा शुक्रबार विश्वासको मत मागेका थिए । एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए ।
शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै पक्षमा मतदान गरेका थिए । नेकपा एमाले संसदीय दलले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे थियाे ।