मंगलबार , बैसाख ११, २०८१

Nepalirajneeti
संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् ।

एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।यो घटनाले केन्द्रको सत्तामा समेत कम्पन आएको छ । आज फ्लोर क्रस गर्ने चारै जना प्रदेशसभा सांसदहरु माधवकुमार नेपाल पक्षका थिए । फ्लोर क्रस गर्ने प्रकाश ज्वालाले कारबाही हुन्छ भन्ने जानेरै कदम चालेको बताइसकेका छन् ।

उनले पार्टीलाई एकतावद्ध बनाउन गम्भीर नभएमा योभन्दा गम्भीर घटनाहरु घट्न सक्ने समेत औल्याए । माधव नेपाल निकट नेता युवराज ज्ञवालीले पनि अझै गम्भीर अवस्थाहरु आउनसक्ने बताए । यी सबै घटनाका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् ।उनले समानान्तर कमिटी गठन गरेर सक्रियता बढाइरहेका छन् । प्रदेश देखि केन्द्रसम्म आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् । हुनपनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समिकरण बन्ने संकेतहरु देखिएका छन् ।

कर्णाली प्रदेशमा काँग्रेस र माओवादीबीच सहमति विकास भएको देखियो । त्यहाँ काँग्रेसले मत दिएर मुख्यमन्त्री शाहीको मुख्यमन्त्री पद जोगाइदिए । सत्ता समिकरणका लागि अंकगणितको विश्लेषण गर्दा अब माधवकुमार नेपाल पक्षीय सांसद समेत गन्नुपर्ने भएको छ ।
संघीय संसदमा नेकपाको १२० सांसद रहेकोमा अब माधव नेपाल पक्षधरको समेत गणना छुट्टै गर्नुपर्ने अवस्था आएको छ । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेसले निर्णय नै लिइसकेको छ । माओवादी केन्द्र ओलीलाई हटाउन हतारमा छ । जनता समाजवादी पार्टी अंकगणीतको हिसाबकिताब गरेर अलमलमा छ । जसपाले सरकारको नेतृत्वको दाबी गरेको छ । तर, घटना यसरी विकास भएको छ कि अब फ्लोर क्रस हुने अवस्थामा जसपा निर्णायक शक्ति नहुने भएको छ ।

काँग्रेस र माओवादी केन्द्रको गरी प्रतिनिधि सभामा ११० सिट पुग्छ । काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसदले मतदान गर्न पाउछन् । बहुमतका लागि २८ सिट अपुग हुन्छ । नेकपा एमालेभित्र फ्लोर क्रसको निरन्तरता भएमा माधव नेपालका ३० भन्दा बढी सांसद साथमा छन् । उनीहरु नेपालका लागि जस्तोसुकै जोखिम मोल्न पनि तम्तयार छन् ।

ओलीलाई कुनैपनि हालतमा हटाउन काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष सक्रिय भइरहँदा अब फ्लोर क्रसको सम्भावना नकार्न सकिदैन । कुनैपनि बेला काँग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरिहालेमा जसपा अब निर्णायक शक्ति नहुने देखिएको छ । जसपाले ओलीलाई साथ दिएपनि विश्वासको मत लिन कठिन हुने देखिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय