बुधबार , बैसाख १२, २०८१

एजेन्सी,
भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जो’खिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको हो । अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका आधारमा सार्वजनिक गरिने उल्लेख छ ।

कक्षा १२ को परीक्षा भने स्थगित गरिएको छ । यसका लागि अर्को सूचना जारी गर्ने तयारी भएको छ । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० र १२ को परीक्षा ४ मेमा तय भएको थियो ।

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण
कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।

गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय