मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले भने ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ’ उनले प्रश्न गरे ‘के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’

अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भने, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भने ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिँड्नेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदान, त्याग र पीडादायक भोगाइको सम्मान गरिएको बताए । ‘सबै सम्मानित तर यस्तो सम्मान जहाँ बलिदान छ पीडा छ, त्यो बलिदान, त्यो पीडा, ती शहीदको गौरवपूर्ण इतिहासको सम्मान, योगदानको सम्मान, देशका निम्ति गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान आज हामीले गरेका छौं’ उनले भने ।

शहीदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि प्रधानमन्त्री ओलीले बताए । यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय