शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगन थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चमत्कार भयो भनेपनि राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको उनले बताए । मोडालिटी, स्रोत, कानून लगायतमा समस्या रहेको भन्दै उनले यसलाई बदल्न प्रधानमन्त्रीले नेतृत्व दिनुपर्ने बताए ।

तर प्राधनमन्त्री ओली उद्घाटन र शिलान्यासमा व्यस्त रहेको र ‘यति धेरै विकास निर्माणको काम कहिल्यै भएको थिएन, यो त चमत्कार भयो’ भनिरहेको उनले बताए । वास्तविकता के छ भन्ने थाहा नभएर वा ढाट्ने वानी लागेर यसो भएको भन्दै थापाले अघि भने, ‘यो दुबै राष्ट्रका लागि हानिकरक छ ।’

३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री र २ चैत २०७४ मा विना मगर खानेपानीमन्त्री भएको स्मरण गर्दै उनले भने, ‘२९ चैत २०७४ मा मेलम्चीको सुरुङ छिचोलेर उपराष्ट्रपतिले रिबन काट्नुभयो र प्रधानमन्त्रीले यही रोष्ट्रममा उभिएर भन्नुभयो २०७५ असोजमा मेलम्चीको पानी आउँछ ।’

‘यो भयो भनेको छ, त्यो भयो भनेको छ । हुँदाहुँदा निर्माण सम्पन्न भएर दुई वर्षदेखि सञ्चालनमा रहेको पुलको उद्घाटन गरेको छ । बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ’ उनले भने ।

प्रधानमन्त्री र खानेपानी मन्त्रीको कुरा नमिलेको र ठेकदारसँग मोलमोलाई भएका कारण सुरुङ छिचोलेपछि पनि पानी आउन साढे २ वर्ष लागेको र डेढ अर्ब अनावश्यक खर्च भएको उनको दाबी छ ।

कांग्रेस सांसद थापाले भने, ‘५७ दिनमा चमत्कार भएको थिएन, पहिलादेखि नै काम भएको थियो । ९ महिना त यो आयोजनामा सिन्को पनि भाँचिएन । अनि अहिले यत्रो फूर्ति ?’

२०४४ सालमा परिकल्पना गरिएको मेलम्ची आयोजना २०५५ सालमा विकास समिति बनेको स्मरण गर्दै उनले ७/८ वर्षमा सक्नुपर्ने आयोजनाका लागि २३ वर्ष लागेको बताए ।

यो अवधिमा सबै सरकारमा बसेको भन्दै कांग्रेस सांसद थापाले भने, ‘यो बेलामा प्रधानमन्त्री र हामी सबैले काठमाडौंबासीसामू पानी खुवाउन ढिला गर्‍यौं । तर यो आयोजानाबाट हामीले धेरै सिकेका छौं, अब यस्तो गर्दैनौं भन्नुपर्ने बेलामा कहिले धारा खोलेर कहिले बाल्टिन थापेर तामासा गरेको छ । चमत्कार भयो भनेको छ ।’

२०६७ मा शुरु गरेको तथा २०७१ साल चैतसम्म ८० प्रतिशत काम सकिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भूकम्प तथा नाकाबन्दीका कारण केही प्रभावित भएपनि २०७५/०७६ मा सम्पन्न हुनुपर्ने उनले बताए ।

अहिले बल्ल काम सकिन लागेको र वैशाखमा पहिलो युनिट सञ्चालनमा आउने भन्दै उनले यसमा पनि प्रधानमन्त्रीले मेलम्चीको शैली दोहोर्‍याउने बताए । थापाले अघि भने, ‘गजबै भयो, प्रधानमन्त्रीले त विजुली बालिदिनुभयो, पानी झारिदिनुभयो भन्ने कविता अब हामीले फेरि सुन्नुपर्ने छ ।’

सरकारले चमत्कार गर्‍यो भन्नेहरुले काठमाडौं–तराई द्रुतमार्ग, बुढीगण्डकी जलविद्यतु आयोजना, कर्णाली र कोशी करिडोरको विषयमा नबोलेको उनले बताए ।

राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको भन्दै उनले भने, ‘किनकी यसका संस्थागत आधारभूत समस्या छन् । मोडालिटीमा छ, स्रोतमा छ, समन्वयमा छ, कानूनमा छ, शैलीमा छ । यसलाई हामीले बदल्नुपर्छ ।’

यसलाई बदल्न नेतृत्व गर्नुपर्ने प्रधानमन्त्रीले मिथ्यांक ल्याएर भाषणबाजी गर्दै हिँडेको उनको आरोप छ । ‘यो भयो भनेको छ, त्यो भयो भनेको छ । हुँदाहुँदा निर्माण सम्पन्न भएर दुई वर्षदेखि सञ्चालनमा रहेको पुलको उद्घाटन गरेको छ । बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ’ उनले भने ।

ठेक्का समेत नलागेको सुनकोशी मरिन डाइभर्सनको शिलान्यास भएको भन्दै उनले भने, ‘अस्ति भर्खर ट्याक्क बटन थिचेर १६५ वटा सडकको शिलान्यास । कति सजिलो ? पैसा ३ अर्ब छ, लाग्छ ५७ अर्ब । डिजाइन पनि नचाहिने ।’

वर्षमा ८/९ सय किलोमिटर सडक बनाउने सडक विभागले तीन वर्षमा थप २३ सय किलोमिटर सडक बनाउन संस्थागत क्षमता विकासमा के गर्नुपर्छ भन्ने समेत नहेरिएको भन्दै उनले भने, ‘त्यसो भए किन १६५ वटा मात्र । यत्तिको बहादुर प्रधानमन्त्री भएको बेला १६०० ठोकिदिए भइहाल्यो नि ।’

सांसद थापाले पूर्वधार निर्माणमा यो सरकारले मात्र काम गरेन भन्ने आफ्नो आशय नभएको बताए । यो समस्या सम्बोधन गर्न संसदले दर्जनौं कानून बनाउनु पर्ने र काम लगाउने निकाय तथा निमार्ण व्यवसायीको क्षमता अभिवृद्धि गर्नुपर्ने उनले बताए ।

यसका लागि प्रधानमन्त्रीले रुची भए सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए । त्यसो नगरी चमत्कार भयो मात्र भनिरहने हो भने बहसमा आउन थापाले चुनौती दिए । ‘यो नेपाल सरकारले प्रस्तुत गरेको पुस्तक हो । म यो पुस्तकमा बहस गर्न तयार छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तपाईलाई संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु ।’

‘होइन भने बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने, तलकाले ताली बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बाल कविता सुनाएर बस्ने होइन’ सांसद थापाले अघि भने, ‘हामी बहस गर्न तयार छौं, तपाईंले प्रस्तुत गर्नु भएको तथ्यमा टेकेर ।’

तीन वर्षमा कहाँ चमत्कार भयो भनेर हरेक मन्त्रालय वा आयोजनाबारे बहस गर्न तयार रहेको रहेको उनले बताए । ‘नेपालको इतिहासमा सबभन्दा बढी अवसर पाउने भएको अवस्थामा काम कति भयो भनेर बहस गर्न तपाईंलाई एउटा सांसद निम्तो दिन चाहन्छ, चुनौती दिन चाहन्छ’ सांसद थापाले भने ।

संसदलाई छलेर शिलान्यास र उद्घाटन नै गर्ने रहर भए सडक र पुल सकिएपछि बालुवाटारको खाली जग्गामा प्रत्येक दिन नयाँ भवन र कोठाको उद्घाटन गर्न सल्लाह लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय