शुक्रबार , चैत्र १६, २०८०

प्रकाशित: २०७९ माघ २५ गते, बुधबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

जब भूकम्प गएको दुई दिनपछि भग्नावशेषबाट पूरै परिवारलाई जीवितै निकालियाे

एजेन्सी: उद्धारकर्मीहरूले भूकम्प गएको दुई दिनपछि भग्नावशेषमा पुरिएका एक सिरियाली परिवारका सबै सदस्यलाई जीवितै उद्धार गरेका छन्।

सोमबार टर्कीको पूर्वी भाग र छिमेकी देश सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियाे। जसमा करिब ६ हजार भन्दा बढी भवन भग्नावशेषमा परिणत भएका छन्।

एकातर्फ भूकम्पले गरेको विनाश भय‌ंकर छ भने अर्कातर्फ हालको अत्यधिक चिसो मौसमका कारण त्यहाँकाे अवस्था झन् जटिल बनेको छ। भूकम्पको दुई दिन बितिसक्दा लगातार रुपमा खटिएका उद्धारकर्मीहरूले ती भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न सकिने आशा मार्दै जान थालेका थिए।

तर बुधबार बिहान, ४८ घण्टापछि, आफ्नै घरले पुरिएर रहको एक परिवारको सबै सदस्यहरूलाई जीवितै निकाल्न उनीहरु सफल भए। भूकम्पकाे केन्द्रविन्दु नजिकै रहेको एक अपार्टमेन्टकाे भग्नावशेषमा पुरिएर रहेका ३ वर्षीय आरिफ खानलाई सकुशल निकालिएको भिडियो हाल भाइरल भइरहेको छ।

यसअघि उनका बाबु र परिवारका अन्य सदस्यलाई पनि जीवितै उद्धार गरिएको एबीसी सेभेन न्यूजले जनाएको छ।

उनीहरू दुई दिनसम्म कठ्याङ्ग्रिने चिसो र अन्धकार भग्नावशेषमा च्यापिएर रहेका थिए। यसैगरी, म‌ंगलबार पनि उद्धारकर्मीहरूले एक नवजात शिशुलाई जीवितै निकालेका थिए। ती शिशु भग्नावशेष भित्र आफ्नाे मरिसकेकी आमासँग टाँसिएर रहेका थिए।

भग्नावशेषले पुरिएर आमाको मृत्यु भए पनि भर्खरै जन्मेको बच्चा जीवितै रहनुलाई चमत्कारको रुपमा लिइएको छ। त्यहाँ सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्प गएको थियाे।

जसका कारण हालसम्म ९ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भैसकेको छ।यस भूकम्पमा परी २० हजार मानिस हताहत भएको अनुमान उद्धार तथा राहतको समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले गरेका छन्।

यसैगरी टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार र राहतका लागि नेपाल सरकारले पनि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेकोमा टर्की सरकारको दुःखमा नेपालले पनि सहयोग गर्नुपर्ने बताए।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

यसैगरी टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

यसैगरी, सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने, ‘टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय