मंगलबार , बैसाख ११, २०८१

पोखरा ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् ।

नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो ।

स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पंगु बनाउनु भएको उनको भनाइ छ ।

‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ थापाले भने ।

सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनले दावी गरे ।

‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भने ।

कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने थापाको भनाइ थियो । ‘चुनावमा गएर जनतालाई भन्नुपर्‍यो ।

संविधान बनाऊ भन्नुभयो, बनायौं । नेकपाले सरकार चलाउन सकेन र अब कांग्रेसले चलाउँछ,’ थापाले भने, ‘नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन ।’

केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उनको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भने, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा जान्छौं । हिजो के ग¥यौं हेर्ने होइन, सच्चिएर जाने हो ।’

हिजो बहुमत ल्याएको नेकपाले सरकार र पार्टी जोगाउन नसकेको अवस्थामा अबको बहुमत जोगाएर कांग्रेसले सरकार चलाउने थापाले बताए ।

आउँदो चुनामा कांग्रेस कुनै पनि पार्टीसँग मिलेर चुनावमा नजाने थापाको दाबी थियो । ‘कांग्रेस कुनै पार्टीसँग मिल्दैन, कांग्रेस आफ्नो तागत, विचार लिएर जनतामा जान्छ,’ थापाले भने, ‘केपी ओलीबाट निराश जनतालाई भरोसा दिलाएर जनतामा जाने हो । हामी आफैंले बहुमतको स्थिति बनाउने हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय