शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडिसकेका थिए ।

तर उनीहरु बीच बाटोबाटै फर्किएका छन् । ‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो ।

यसपछि हामी त हिँडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने ।

उनका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो ।

तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने ।

छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् । ‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।

ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।

स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय