बिहिबार , बैसाख १३, २०८१

काठमाडौ।

संसद् पूनःस्थापनापछि दलहरु आ–आफ्नै रणनीतिका साथ अघि बढेका छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य गरिरहेका छन् ।

पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर नै उनले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय गरे र त्यसको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग छलफल पनि गरे ।

तर, अहिलेसम्म तीन दलबीच सत्ता समिकरणको लागि ठोस सहमति भएको छैन् ।

नयाँ सरकार गठनको लागि अहिले जसपा, नेपाल निर्णायक शक्ति बनेको छ । जसपाभित्र पनि अहिले प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएको छ ।

अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीसँग सहकार्य गर्नेबारे सकारात्मक देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् ।

यसैबीच, सत्ता समिकरणको लागि महत्वपूर्ण निर्णय लिन आज बस्ने भनिएको कार्यकारिणी बैठक समेत अनिश्चितकालका लागि स्थगित् भएको छ ।

यता, माओवादी केन्द्रले समेत तत्काल कुनै बैठक राखेको छैन् । कांग्रेसको पनि आधिकारिक रूपमा बैठक राखेको छैन् । बरु, प्रमुख सत्तारूढ दल नेकपा (एमाले) बरु चलायमान छ ।

अध्यक्ष ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बेग्लाबेग्लै छलफलमा छन् । आजमात्रै ओलीले पार्टीको संसदीय दलको बैठक राखेका थिए ।

उक्त बैठकमा माधव नेपाल पक्षका सांसदहरु गएनन् । बरु, ललितपुरको हेरिटेज गार्डेनमा नेपाल पक्षको राष्ट्रिय भेला जारी छ ।

संसद् पूनःस्थापनापछिको नेपाली राजनीतिक दृश्य अझै क्लियर भएको छैन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकार नै निरन्तर हुन्छ कि या उनलाई हटाएर नयाँ सरकार बन्छ ? भन्नेबारे चर्चा चलिरहेको छ ।

संसद् बैठक अब भोलि दिउँसो १ बजे बस्दैछ । आजमात्रै पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले साता÷दश दिनभित्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताईसकेका छन् ।

महामन्त्री कोइरालाले मात्रै नभएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले समेत एक साताभित्र नयाँ सरकार गठन भैसक्ने घोषणा गरेका छन् ।

हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार तय नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका थिए ।

दलहरुको पछिल्लो रणनीति र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग गरेको सर्वदलीय बैठकपछिको सिनारियो हेर्दा अब राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने र आगामी मंसिरभित्रै चुनाव गराउनेगरि दलहरु अघि बढेको बुझिएको छ । तर, प्रधानमन्त्री ओली भने आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपनि फेश गरेर अघि बढ्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय