काठमाडौं । नागरिकताको विषयमा परेको रिटमा सर्वोच्च अदालतको शुक्रवारको फैसलापछि पदमुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने पुनः गृहमन्त्री बन्नुहुने तयारी भएको छ ।

सर्वोच्च अदालतले अमेरिकी नागरिकता परित्याग गरे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि निवेदन नदिएको भन्दै लामिछानेको नागरिकता अवैध रहेको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि उहाँको मन्त्री, सांसद र पार्टी सभापति पद एकैपटक खारेज भएको थियो । तर लामिछानेले आज आइतवार नै नेपाली नागरिकता पुनः प्राप्तिका लागि निवेदन दिने तयारी भएको उहाँ निकट स्रोतले बताएको छ ।

सम्भावतः उहाँले आजै वैधानिक रुपमा नागरिकता पाउनुहुनेछ । नागरिकता प्राप्त भएपछि लामिछानेलाई पुनः गृहमन्त्रीमै नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना रहेको स्रोतको दाबी छ ।

नेपालको संविधान अनुसार गैर सांसदले पनि ६ महिनासम्म मन्त्री बन्नसक्ने छन् । स्रोतका अनुसार त्यही प्रावधानमा टेकेर ६ महिनाका लागि गृहमन्त्री बन्ने र त्यहीबीचमा चितवन २ मा हुने उपनिर्वाचनमा पुनः उम्मेदवारी दिने लामिछानेको तयारी छ ।

उपनिर्वाचनमा पनि पुनः निर्वाचित भए उहाँले मन्त्रीमा निरन्तरता पाउनुहुनेछ । सत्ता गठबन्धनमा स्वतन्त्र पार्टीको अर्थपूर्ण सहभागिता रहेकोले प्रधानमन्त्री दाहालले लामिछानेलाई नै गृहमन्त्रालयमा निरन्तरता दिन चाहनुभएको बुझिएको छ ।

त्यसैले उहाँले गृहमन्त्रालयको कार्यभार आफैंसँग राख्नुभएको छ भने मन्त्रालयको वेबसाइटमा पनि लामिछानेलाई पूर्व गृहमन्त्रीको सूचीमा राखिएको छैन । यद्यपि मन्त्रीको नामबाट भने हटाइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय