शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् ।

विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।’

सर्वोच्च अदालतले फैसलाअनुसार एमालेको पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

साथै २८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नुपर्ने आफूहरुको माग रहेको भन्दै उनले भने, त्यसैमा कुरा मिलेन ।’

सबै कुरामा आजै टुंगोमा पुगिँदैन, थप छलफल गर्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार केपी शर्मा ओली र माधवकुमार नेपाल समूहको बैठकमा एमालेलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको बताए ।

उनले बैठकमा उठेका कतिपय विषयमा आजै टुंगोमा पुग्न नसकिने भन्दै थप छलफल गर्नुपर्ने बताए ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच विवाद बढ्दै गएपछि सोमबार दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल राखिएको थियो ।

बैठकमा ओलीले फागुन २८ गते आफू निकटका नेताहरुको बैठकबाट गरेको निर्णय खारेज गर्न माधवकुमार नेपाल समूहले माग गरेको थियो । त्यस विषयमा छलफल प्रारम्भ भएको पोखरेलले बताए ।

‘अहिले हाम्रो साझा निश्कर्ष के हो भने हामीहरुले यो अवसरलाई उपयोग गरेर एमालेलाई थप व्यवस्थित बनाउनुपर्छ’ उनले भने, ‘कतिपय समीक्षात्मक कुरामा आज नै टुंगो गर्न सकिँदैन, थप छलफल गर्नुपर्छ ।’

उनले दुबै समूहले गरेको गतिविधिको समीक्षा गर्नुपर्ने विषय बैठकमा उठेको बताए । ‘२८ गतेको बैठकमात्र होइन यस बीचमा विभिन्न गतिविधि भएका छन्, अर्याल होटलमा भएका छन् । …समग्र रुपमा विगतमा गरिएका कामको यथासमयमा समीक्षा गरिसकेपछि उचाइमा पुगौंला’ उनले भने ।

अध्यक्ष ओलीले बालुवाटारमा भेला राखेपछि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले अर्याल होटलमा बैठक गरेर चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय