बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनीति

सत्तारूढ नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता नलिएको बताएका छन्।

‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ पत्रकार ऋषि धमलाले आइतबार बेलुकी लिएको टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिनसमेत चुनौती दिएका छन्। साथै प्रधानमन्त्री ओलीले आफूलाई मन नपाउने भनेर माओवादी केन्द्रतर्फ संकेतसमेत गरेका थिए।

‘समर्थन फिर्ता लिए भो नि त,’ प्रधानमन्त्री ओलीले भने, ‘तर फिर्ता त लिएको छैन अहिलेसम्म।’

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेकोसमेत बताए।

‘हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ?,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने।

तत्कालीन एमाले र माओवादी एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि त्यसबेला प्रधानमन्त्री ओलीले नै जेट विमान हाँक्न दुई पाइलट चाहिने उल्लेख गरेका थिए।

साथै प्रधानमन्त्री ओलीले जनादेशविपरीत हुने खालका कामहरू गर्न आफू तयार नभएको बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री छाड्नेबारे कुनै प्रस्ताव आफूले नराखेको प्रधानमन्त्री ओलीको दाबी थियो।

प्रधानमन्त्री ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको पनि बताए। आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने ओलीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय