मंगलबार , बैसाख ११, २०८१

काठमाडौं,

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ । शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिएकोमा आजको बैठकले कारबाही गर्ने भएको छ ।

आजको बैठकले २३ जनालाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद रहेका चारजनाको पद नै खारेज गर्ने निर्णय लिने भएको छ । २३ जनामध्ये कसैले पनि माओवादी केन्द्रमा फर्कने जवाफ नदिएको बुझिएको छ । मन्त्री भएका ६ जना नै नफर्कने घोषणा गरिसकेका छन् । जसमध्ये ३ जना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसद छन् ।

यसअघि हिजो २४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको थियो । दल त्याग गरेका सांसद भएकाहरुको पद स्वतः जानेछ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।

यसैगरी, स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ । शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो । बादलले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका थिए । लेखराज भट्टले सुदूरपश्चिम र मणि थापाले कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय