
काठमाडौं ।
नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने ‘प्रशस्त समय होस् भनेर चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छु’,
ओलीले भने, ‘यत्ति विघ्न टेलिभिजनले खिच्या छन् । सुनिन भन्न पाइने छैन ।’ ओलीले बैठकमा उपस्थित नभए विधानको व्यवस्थाअनुसार हुने चेतावनीसमेत दिएका छन् ।
निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे ।
आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।
एमाले अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।