बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पेलेर जाने मनस्थितिमा देखिएको विश्लेषण गरेका छन् ।

आफूहरु पार्टीभित्र एकता कायम होस् भन्ने पक्षमा रहेको बताएका नेताहरुले अर्को पक्षसामू आत्मसमपर्ण भने नगर्ने बताएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि साबिक नेकपाको प्रचण्ड समूहसँग अलग भएको माधवकुमार नेपाल पक्ष अन्तरिक छलफलमा जुटेको छ । मंगलबार सांसदहरुसँग छलफल गरेका नेताहरुले बुधबार केन्द्रीय सदस्यहरुको भेला गरेका हुन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा केन्द्रीय सदस्यहरुले पछिल्लो २/३ दिनको घटनाक्रमको विश्लेषण गरेका छन् । नेताहरुका अनुसार एमाले ब्युँतिएपछि नेतृत्वले सम्वाद थालेको छैन ।

बरु कैलाली लगायतका जिल्लामा भएको घटनाले अध्यक्ष ओलीले नेतृत्व गरेको समूह पेलेर जाने मनस्थिति देखिएको छ ।

‘अध्यक्ष ओली पार्टीभित्र एकता कायम गर्ने पक्षमा देखिएका छैनन् । त्यसैले हामी मात्र झुक्नुको अर्थ छैन’ एक नेता भन्छन्, ‘नाजायज तर्कहरु मान्नु हुन्न र आत्मसमर्पण गरिन्न भन्ने साथीहरुको मत रहृयो ।’ भेलाले पार्टीमा तिक्तता बढाउने खलका गतिविधि तत्काल बन्द गर्न अध्यक्ष ओलीलाई आग्रह समेत गरेको छ ।

पाँच नीति : वाम गठबन्धनमा जोड

माधव पक्षका अधिकांश केन्द्रीय सदस्यहरु उपस्थित भेलाले पाँच नीति लिएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

पहिलो, एमाले विधि, पद्धति र प्रणालीका आधार चलाइनुपर्छ । पार्टी केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी विधानअनुसार चलाइनुपर्ने नेताहरुले साझा धारणा बनाएका छन् । ‘एमाले विगतमा झैं विधि, पद्धति र प्रणालीमा चल्नुपर्छ । यो विषयमा थोरै पनि सम्झौता गरिने छैन’, केन्द्रीय सदस्य जगनाथ खतिवडा भन्छन् ।

दोस्रो, पुनर्स्थापित एमाले र अदालतको फैसलाबारे साझा धारणा बनाइने । त्यो भनेको ‘फैसला गलत र राजनीतिक हो’ भन्ने बुझ्ने र मातहतका नेताहरुलाई बुझाइनेछ । तर, अदालतको फैसला अस्वीकार गर्न नसकिने भएकाले एमालेलाई थप सशक्त बनाउन लागिपर्ने निर्णय भएको खतिवडाले बताए ।

तेस्रो, २ जेठ २०७५ अगाडिकैसंरचना र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने । अदालतले एमाले ब्यूँताएकाले माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको पार्टी एकता अगाडिकै पार्टी संरचना रहने र त्यसैअनुसार सञ्चालन हुनुपर्ने नेताहरुको जोड छ ।

एमालेको पार्टी संरचनाभन्दा अरुलाई नमान्ने निष्कर्ष बैठकबाट निकालिएको केन्द्रीय सदस्य सावित्रा भुसालले बताइन् । ‘एमालेले नचिन्ने पार्टी संरचना र विधान मान्न सकिँदैन । सवै नेताहरु यसमा सहमत हुनुहुन्छ’, उनले भनिन् ।

तल्लो कमिटीहरुलाई पनि त्यसअनुसार नै पार्टी सञ्चालन गर्न र भेला बैठक राख्न भनिएको एक नेताले बताए ।

चौथो, एकताबद्ध एमाले ओलीकै भूमिकामा निर्भर । अध्यक्ष एव्म प्रधानमन्त्री ओली कसरी प्रस्तुत हुन्छन्, त्यसैआधारमा एमालेभित्र प्रस्तुत हुने निष्कर्ष बैठकले निकालेको छ र ‘पार्टी एकताबद्ध रहन्छन् वा अन्तरविरोध चर्कन्छ भन्ने कुरा अध्यक्ष ओलीकै भूमिकामा भर पर्छ’, भुसालले भनिन् ।

केही नेताले त पार्टीमा सम्मानजनक व्यवहार नभए फरक ढंगले अगाडि बढ्नुपर्ने अवस्था आउन सक्ने समते बताएका छन् । ‘हामी माओवादी त बन्न सक्दैनौं, तर पार्टीमा अपमानजनक व्यवहार भए अलग राजनीतिक समूह बनाएर जानुपर्ने अवस्था पनि सक्छ भन्ने मत पनि केही साथीहरुले राखेका छन्’ एक नेताले भने ।

पाँचौं, वाम एकता र वामपन्थी सरकारमा जोड । माधव पक्षका केन्द्रीय सदस्यहरुले अहिलेको जनमत वाम सरकारलाई भएकाले सकेसम्म वाम एकता कायमै राख्नुपर्ने, नभए वाम गठबन्धनको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । ‘वामपन्थीहरुको सरकार बनाउन जोड दिनुपर्छ । अध्यक्ष केपी शर्मा ओलीलाई त्यही सुझाव दिनुपर्छ’, बरिष्ठ नेता माधव नेपालले भनेका छन् ।

त्यो सम्भव नभए एमाले नेतृत्वको वर्तमान सरकार जोगाउनु कर्तव्य भएकोमा नेताहरुले जोड दिए । तर, अहिलेसम्म सरकार र पार्टीबारे ओलीले कुनै प्रस्ताव नल्याएको नेता नेपालले जानकारी दिए ।

ओलीप्रति चार टिप्पणी

सहभागीमध्ये अधिकांश नेताहरुले धारणा राखेका थिए । र, अध्यक्ष ओलीबारे मुलतः चार टिप्पणी गरेका थिए ।

पहिलो, अध्यक्ष एवं प्रधानमन्त्री ओली जसरी पनि सरकार टिकाउन लाग्छन् भन्नेमा नेताहरुको समान बुझाइ थियो । अहिलेसम्मका गतिविधिले पनि ओलीले सरकारलाई निरन्तरता दिन चाहेकाले त्यसमा साथ दिनुपर्ने नेताहरुले बताएका छन् ।

दोस्रो, ओलीले पार्टी कब्जाको नीति नछोड्नेमा नेताहरुको समान बुझाइ थियो । एक नेता भन्छन् ‘ओलीको पार्टी कब्जा तरिकालाई हामीले सामाजिक फाँसिवादी भन्ने गरेका छौं । आज पनि त्यही कुरा भयो ।’

तेस्रो, ओली कम्युनिष्ट आन्दोलन सिध्याउने यात्रामा रहेको भन्दै नेताहरुले पार्टीभित्रबाट त्यसलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

चौथो, ओली समाजवादी आन्दोलनबाट बिमुख हुने यात्रामा रहेकाले त्यो प्रवृत्ति रोक्नुपर्ने नेताहरुले बताएका थिए ।

नेताहरुलाई माधव नेपालको आश्वासन

ओली प्रवृत्ति र आगामी योजना बताएका नेता नेपालले बैठकमा सहभागी नेताहरुलाई आश्वस्त पार्ने प्रयास पनि गरेका थिए ।

उनले खराब कुराविरुद्ध कदापि सम्झौता नगर्ने बताएका छन् । ‘पार्टी नेता-कार्यकर्ताको न्याय र विवेकपूर्ण संरक्षणमा कमी गरिँदैन’ उनले भनेका छन्, ‘एमाले हामीले निर्माण गरेको हो । पार्टी निर्माणकर्तामध्ये दुई जना यही छौं ।’ उनले अहिले भइरहेका टिप्पणीहरुको आयु दुई दिन पनि नभएकाले कुनै चिन्ता नलिन पनि आग्रह गरेका छन् ।

‘पार्टी निर्माण गर्ने र हुर्काउनेहरु यही छौं, धेरै नेताहरु यही हुनुहुन्छ । यो पार्टी जसले निर्माण गरेको छ । रगत र पसिना बगाउनेहरुलाई आयो वा गयो भन्नु भनेको मूर्खता हो । त्यस्तो बोलीको आयु दुई दिन पनि रहँदैन’ नेपालले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय