शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

माओवादी केन्द्रका पाँच नेताहरु यतिबेला सरकारमा छन् । उनीहरुमध्ये तीन प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभाका सांसद हुन् । एकजना सांसद छैनन् ।

सबैलाई फर्काउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेताहरु सक्रिय भएका छन् ।

आज प्रवक्ता नारायणकाजी श्रेष्ठले सहरी विकासमन्त्री प्रभु साहलाई फोन नै गरेर पार्टीमा आउन आग्रह गरे । तर, प्रभुले नकारात्मक जवाफ फर्काए ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदहरु लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पनि फर्काउन पहल भएको छ । तर, भट्टले सांसद पद गएपनि नफर्कने सार्वजनिक रुपमा बताइसकेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभा सांसद हुन् । उनी पनि माओवादी केन्द्रमा नफर्किए सांसद पद नै खारेज हुनसक्छ । तर, बादल कुनै हालतमा नफर्कने बुझिएको छ ।

बादलनिकट खेलकुदमन्त्री दावा लामाले आफूहरु नफर्कने बताइसकेका छन् । बादललाई नेकपा एमालेमा उपाध्यक्ष बनाउने तयारी भएको बुझिएको छ ।

गौरीशंकर चौधरी पनि मन्त्री छन् । उनलाई पनि फर्काउन पहल सुरु भएको छ । तर, चौधरी पनि नआउने बुझिएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित बहालवाला सांसदहरु नफर्किए पार्टी परिवर्तन गरेको मानिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनले निर्वाचित सांसद, प्रदेशसभा सांसद या स्थानीय निकायका जनप्रतिनिधिले दल त्याग गरेर स्वतः पद खारेज हुनसक्छ ।

अब चारजना मन्त्रीले तत्काल माओवादी केन्द्रमा नफर्किए संसदीय दलका नेता प्रचण्डले सांसद पद नै खारेज हुने गरी निवेदन दिन सक्छन् ।

उनीहरु कारबाहीमा परेर सांसद पद खाली हुनसक्छ । यसरी माओवादी केन्द्रका तीनजना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसदको पद धरापमा परेको छ ।

खानेपानी मन्त्री मणि थापा माओवादी केन्द्रमा हुँदा स्थायी कमिटीमा थिए । उनी निर्वाचित जनप्रतिनिधि नभएकाले ढुक्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय