काठमाडौं । प्रधानमन्त्री चयनअघि पुस १० मा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रमुख पद बाँडफाँटबारे भएको सैद्धान्तिक सहमति भङ्ग भएको छ ।

पुस १० ओली निवास बालकोटमा ओली र प्रचण्डबीच प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । सोही सहमतिका आधारमा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

पुस १० को सहमतिअनुसार प्रधानमन्त्री भएपनि कांग्रेसलगायतका दलले पनि विश्वासको मत दिएको भन्दै प्रचण्डले सहमतिलाई उल्लंघन गरेका छन् । शनिबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले महत्वपूर्णं पदमा सर्वदलीय सहमतिका आधारमा अघि बढ्ने बताएका छन् ।

उनले आफुलाई विश्वासको मत दिने सबै दलसँग आगामी शक्ति बाँडफाँटबारे छलफल गरी सहमति हुने पनि बताएका छन् । प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदबारे एमालेसँग कुनैपनि लिखित सहमति नभएको पनि स्पष्ट पारेका छन् ।

प्रचण्डले भनेका छन्, “राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे कुनै लिखित सहमति भएको छैन, अब बस्ने सर्वदलीय बैठकले यी विषयमा निर्णय लिनेछ ।”

राष्ट्रपति र सभामुखको निर्वाचन अघि नै सर्वदलीय बैठक बोलाउने र उक्त बैठकमा छलफल गर्ने तयारी प्रचण्डले गरेका छन् । प्रचण्डले बताएअनुसार आगामी माघ ३ गते सर्वदलीय बैठक बस्नेछ ।

प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति यसअघि नै एमालेले आशंका व्यक्त गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने दिनको संसद बैठकमा कांग्रेसको निर्णयलाई ‘जालझेल त होइन ?” भनि प्रश्न तेर्साएका थिए ।

विश्वासको मत दिनुलाई कांग्रेसले भने ‘कोर्ष करेक्सन’को संज्ञा दिएको थियो । प्रचण्डलाई विश्वासको मत दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले शक्ति समिकरण फेरिने संज्ञा दिएका थिए ।राष्ट्रपति र सभामुखलगायतका पदमा बेग्लै समीकरण बन्ने पनि उनले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर